
केके मानन्धर
काठमाडौं । पलिस्था मानन्धर काठमाडौंकी हुन् । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयबाट वातावरण विज्ञानको इन्जिनियरिङ सकाएकी उनलाई पेन्टिङमा खुब रुचि छ ।
पछिल्लो समय परिवारसँगै रिङरोडमा बस्ने भएपनि जीवनको पूर्वाद्र्ध बसन्तपुरको पुरानो बस्तीभित्र बित्यो । त्यहि भएर हुनसक्छ, संस्कृतिलाई नजिकबाट नियाल्न मनपर्छ, उनलाई । सांस्कृतिक सौन्दर्य, महत्व र त्यसभित्रको विशेषतालाई बुझ्न उनलाई चित्रकलाले सहयोग गरेको छ ।
‘पेन्टिङ नै मेरो लागि संस्कृतिलाई बुझ्ने, हेर्ने र अनुभव गर्ने माध्यम बनेको छ । मेरो लागि यो अवसर हो जो, कहिल्यै नछुटिने गरी बसेको छ ।’ आर्किलिक पेन्टिङलाई क्यानभासमा उतारेकी पलिस्थाको भनाइ थियो ।
करिव दशकदेखि पेन्टिङ थालेकी उनले इम्पासो टेक्स्चर विधाका पाँच वटा पेन्टिङहरु प्रदर्शनीमा राखेकी थिइन् । ‘बितेका पलहरुलाई पुनः जोड्दै’ शिर्षक राखेर उनले मार्च २० देखि २७ सम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा चलेको प्रदर्शनीमा पेन्टिङ राखेकी हुन् । त्यसमध्ये ३० हजार मूल्यका आर्यतारा र भिमसेनको पेन्टिङ बिक्री भयो । नेपालकै सबसे धनाड्य विनोद चौधरीका छोरा निर्वाण चौधरीले प्रदर्शनीबाट उनकै पेन्टिङ छानेकोमा पलिस्था दंग देखिइन् ।
भिंद्यः अर्थात भिमसेनलाई नेवार समुदायले व्यापार व्यवसायको लागि आराध्य देवताको रुपमा पूज्ने चलन छ । त्यस्तै मारवाडी समुदायले गणेश भगवानलाई पूज्छन् । काठमाडौंमा हुर्किएका चौधरीले भिंद्यः छनोट गर्नु उनको नितान्त व्यक्तिगत कुरो भएपनि सयभन्दा बढी पेन्टिङहरु मध्येबाट भिंद्यः नै प्राथमिकतामा पर्नु संयोग मात्र हो ।
उनी लगायत ११ जना कलाकारहरु मध्ये शैली राणा बिष्टको पेन्टिङ पनि पृथक देखिन्थ्यो । फेसन टेक्नोलोजी र फेसन वेयरमा रमाएकी शैलीको संगत एरिना ताम्राकारसँग भएदेखि उनको टर्निङ प्वाइन्ट पेन्टिङसम्म पुग्यो । शैलीको पेन्टिङ प्रकृतिबाट प्रभावित छ । नाङ्गो खुट्टा घाँसमा हिँड्ने, फूलहरुसँगै एकोहोरो प्रकृतिमा रम्ने अनुभवलाई उनले पेन्टिङमार्फत अभिव्यक्त गरेकी छन् ।
आफ्नै अनुहारकी महिलालाई आधार बनाएर उनले हरेक दैनिकीलाई उतारेकी हुन् । पच्चीस वटा पेन्टिङमार्फत कोठाका पूरै भित्ता भरिएको देखिन्थ्यो, शैलीकै मनमोहक पेन्टिङले ।
फ्रइडा काहलोबाट निकै प्रभावित देखिएकी उनी, आफैलाई सबसे बढी बुझ्न सकिने भएर पोट्र्रेट पेन्टिङमार्फत प्रकृतिलाई अभिव्यक्त गर्न सकिने मान्यता राख्छिन् ।
‘महिला, आमा बनेर दैनिकी जो प्रकृतिसँग बिताइन्छ त्यहि जीवन हो । त्यसैलाई म पेन्टिङमार्फत अभिव्यक्त गर्न खोज्छु । यहि मेरो प्रकृतिप्रतिको सम्मान र बुझाइ हो,’ शैलीको तर्क थियो ।
हुनपनि सैद्धान्तिक रुपमा अभिव्यक्तिका दुइवटा माध्यम छन् । भाषा, शब्द, लिपि र आवाजलाई सीमित समुदायले बुझ्छन् । तर संकेत र चित्रमार्फत गरिने अभिव्यक्तिलाई बुझ्ने समुदाय बृहत छ ।
यहि सम्पूर्ण समुदाय र वर्गले बुझ्ने अन्तर्राष्ट्रिय अभिव्यक्तिको माध्यम पनि हो । प्रदर्शनीमा नयना शाक्य ‘आफैभित्र बुद्ध खोज्दै’ शिर्षकका पेन्टिङसँगै प्रस्तुत थिइन् ।
बुद्धको जन्मदेखि बुद्धत्व प्राप्तीसम्मलाई नयनाले पेन्टिङमार्फत उतारेकी छन् । जीवनको अर्थ, रनभुल्ल अवस्था र लक्ष्य भेटाउनेमा पेन्टिङमार्फत प्रमाणित गर्न सकिने उनको तर्क थियो ।
उनले यसअघि सन् २०२० मा वेभसाइटमार्फत पेन्टिङको फिचर गराएकी थिइन् । पाँच हजारदेखि ५० हजार रुपियाँसम्मका पेन्टिङ राखिएको प्रदर्शनीको अर्को मुख्य कोठा विशाल महर्जनको थियो ।
श्रीजना कलेज अफ फाइन आर्टस्मा स्नातक तह उत्तीर्ण गरेका विशाल पूर्ण व्यावसायिक पेन्टर हुन् । ललितपुरमा ट्याटु लेखाउने बाहेक उनको सम्पूर्ण समय पेन्टिङमै बित्छ ।
विशाल भन्दै थिए – ‘अरु थाहा छैन । मेरोलागि कोभिड–१९ सँगै सरकारले जारी गरेको लकडाउनको फुर्सदमा थुप्रै पेन्टिङ बनाउने मौका मिल्यो । प्रत्येक पेन्टिङ बनाउन कम्तीमा हप्तादिन लाग्ने भएपनि आरामका साथ काम गर्न पाएँ ।’
पेन्टिङ मात्र गरेर घरगुजारा चल्छ ? भन्ने प्रश्नमा उनी ढुक्क भएर भन्छन् –‘मज्जाले चल्छ ।’ हुनपनि पेन्टिङको ‘रिसेल भ्यालु’ छ । अहिले बनाएको पेन्टिङ तुरुन्तै बिक्री हुनुपर्छ भन्ने होइन । सय वर्षपछि पनि यसको माग रहन्छ ।
कतिपय पेन्टरले पेन्टिङलाई सुनसँगै तुलना गरेका छन् । सुन जति जम्मा गर्न सके पनि खेर नजाने जस्तै पेन्टिङलाई पनि सदियौँसम्म सुरक्षित बनाएर राख्न सकिन्छ । जति पुरानो त्यति महँगिन्छ ।
नेपालको परिप्रेक्ष्यमा कला क्षेत्र त्यति व्यावसायिक भइसकेको छैन । यस्तो अवस्थामा विशालको पेन्टिङ व्यावसायिकताको कथा सुखद हुनसक्छ । प्रदर्शनीमा विशाल जस्तै रिता मानन्धर र चन्द्रा श्रेष्ठ जस्ता व्यावसायिक पेन्टरका पेन्टिङहरु राखिएका थिए ।
उनीहरु मीना नेवाः, न्हूजः रोय, निना वैद्य जोशी, रश्ना श्रेष्ठ, सुनिभाः श्रेष्ठ, नयना शाक्य, शैली राणा बिष्ट र पलिस्था मानन्धर भन्दा वरिष्ठ हुन् । आर्टिस्ट एलाभेन नामांकरण गरिएको पेन्टिङ प्रदर्शनीलाई आर्ट स्पेस अफ नेपालले आयोजना गरेको थियो ।
कार्यक्रममा आर्टस् नेपाल, पाठशाला नेपाल फाउन्डेसन, प्राइम कलेज, सोनसेरा तथा डा. प्रकाश बिष्टले सहकार्य गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्