१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भूपू सैनिकको हित, सुविधा र गुनासो सुन्न भूपू सैनिक सम्मेलन– प्रवक्ता पौड्याल


0
Shares

काठमाडौं । भूतपूर्व सैनिकहरूको हित, सेवा सुविधा र गुनासाहरूको सम्बन्धमा धारणा बनाउनका लागि गरिने भूतपूर्व सैनिक सम्मेलन प्रभावकारी हुने गरेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले गरिरहेका विभिन्न काम, कारबाहीको बारेमा अवकाशप्राप्त सैनिकहरूलाई जानकारी गराउने तथा भूपू सैनिक र उहाँहरूका परिवारको हितका लागि भएका कार्यक्रमको जानकारी गराउने उद्देश्य साथ भूपू सैनिक सम्मेलन गर्दै आएको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौड्यालले बताउनुभयो ।

नेपाली सेनाले सैनिक कल्याणकारी बोर्ड अन्तर्गत प्रत्येक प्रदेशमा कार्यालय खडा गरी सो क्षेत्रमा बसोबास गर्ने अवकास प्राप्त सैनिकहरूको तथ्याङ्क संकलन गर्ने र सम्पर्कमा रहिरहने गरेको प्रवक्ता पौड्यालले जानकारी दिनुभयो ।

प्रत्येक जिल्लामा भूपू सैनिक फोकल पर्शन नै तोकेर जिल्ला भरिका अवकास प्राप्त सैनिकहरूसँग सम्पर्कमा रहने गरिएको पनि पौड्यालको भनाइ छ । भूपू सैनिक सम्मेलनमा भूपू सैनिकहरूले शिक्षामा अहिले भइरहेको संरचनालाई बिस्तार गरेर थप गर्दै लानुपर्ने सुझाव दिने गरेका छन् ।

सेनाले गर्दै आएको सम्मेलन केही समय रोकिएको थियो । २०७० साल असोजमा नेपाली सेना कल्याणकारी बोर्ड गठन भएपश्चात् सम्मेलनले निरन्तरता पाउन थालेको हो ।