
विकास घिमिरे
धनकुटा । सप्तकोशी नदीकोे बीचमा रहेको ठूलो ढुङ्गा खुवालुङले मोटर बोट सञ्चालनमा बाधा पुर्याएको भन्दै फूटाउने भएपछि त्यसको विरोध गरिएको छ । नदीको बीचमा रहेको ढुङ्गाको कारण विकास निर्माणका सामग्री ढुवानीमा समस्या हुँदै आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो ढुङ्गा खुवालुङलाई फुटाएर जेट बोट चलाउने अभिव्यक्ति दिएपछि खुवालुङको विषय चर्चामा छ । किराँत राई चाम्लिङ्ग भाषामा ‘खु’ भनेको ठूलो खोला, ‘वा’ भनेको पानी र ‘लुङ’ भनेको ढुङ्गा हुने भन्दै खुवालुङ सिङ्गो किराँत समुदायको धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र रहेकाले फुटाउन नहुने तर्क गर्दैै आइरहेका छन् ।
आगोमा घिउ थप्ने गरी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले किराँतीको आस्थामाथिकै प्रहार भएको भन्दै खुवालुङ जोगाउन विभिन्न संघ संगठन एक भएका छन् । किराँत समुदायको इतिहाससँग जोडिएको र आस्थाको केन्द्र खुवालुङलाई प्रधानमन्त्री ओलीले एक ढुङ्गाका रूपमा मात्र लिएकोमा किराँत राई वान्तवाखिमका केन्द्रीय अध्यक्ष ज्ञान किराँती बताउनुहुन्छ ।
प्रदेश सरकारले नै खुवालुङलाई फुटाउने गरी उपभोक्ता समिति नै गठन गरेर काम थाल्न लागेका बेला अभियन्ताहरूकै कारण काम रोकिएको स्थानीयको भनाइ छ । उनीहरूले धार्मिक आस्थाका रूपमा रहेको खुवालुङ फुटाउनुको साटो जोगाएर जेट बोट चलाउन सकिने स्थानीय भानु राई बताउनुहुन्छ । उहाँले ढुङ्गा जोगाएर यस क्षेत्रमा धार्मिक पर्यटनको विकास गर्नुपर्ने उहाँको सुझाव छ ।
खुवालुङ फोडिँदा किराँतीहरूको आस्थामाथि नै प्रहार हुने अभियान्ताहरूको भनाइ छ । त्यसैले खुवालुङ कुनै एक समुदाय र धर्मको मात्र नभइ सबैको सम्पदा भएकाले बचाएरै जल यातायात सञ्चालन गर्नुुपर्ने स्थानीयको माग छ ।
प्रतिक्रिया दिनुहोस्