
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार एवं सञ्चारकर्मी ऋषि धमलाको प्रशंसा गर्नुभएको छ । मंगलबार रिर्पाटर्स क्लबको २३ औं वार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले धमलाको प्रशंसा गर्दै विशेष क्षमता भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘धमलाको हमला जति झेल्न परोस् त्यो टिभीमा अन्तर्वार्ता दिन मान्छे जान्छ, त्यहाँ पुगेपछि धमलाले फर्काइ फर्काइ दिन्छन् भन्ने पनि थाहा छ, चर्को हमलाको सामना गर्न परे पनि जसरी पनि मान्छे पुगेकै हुन्छन् ।’
प्रधानमन्त्री ओलीले ऋषि धमलाले सबैलाई बोलाएर आफ्नो कार्यक्रममा समेट्न सक्ने बताउनुभयो ।
‘कोही आउँदिन भन्यो भने क्रेनले उठाएर ल्याउने विशेष क्षमता ऋषि धमलासँग छ,’ उहाँले भन्नुभयो, ‘उहासँग भएको म्याग्नेटले जान्न भने पनि टपक्क तानिहाल्छ, त्यो किसिमको चुम्बकत्व उहाँसँग छ ।’
भाडाको कोठामा बसेको देखि अहिलेको रिपोटर्स क्लबमा भूमिगत मानिसलाई समेत ल्याएर धमलाले आफ्नो चतुराइ देखाएकोमा ओलीले धमलाको प्रशंसा गर्नुभयो । उहाँले यदि स्मार्ट पत्रकार पुरस्कारको व्यवस्था भएको खण्डमा ऋषि धमलालाई दिन पनि आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्