२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ओलीले प्रतिक्रियावादीको प्रतिनिधि भएर राजनीतिक परिवर्तनलाई उल्ट्याउन खोजे– अध्यक्ष दाहाल


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादी वर्गको प्रतिनिधिको रूपमा राजनीतिक परिवर्तनलाई उल्ट्याउने कसरत गरेको बताउनुभएको छ ।

मंगलबार २०औँ जेल ब्रेक दिवसको अवसरमा आयोजित अन्तर्क्रियामा बोल्दै अध्यक्ष दाहालले देशको संविधानमाथि प्रतिक्रियावादीहरूले प्रहार गरेको र त्यसको प्रतिनिधिको रूपमा प्रधानमन्त्री केपी शर्मा ओली रहनुभएको बताउनुभएको हो । देशको राजनीतिक उपलब्धीहरूलाई उल्ट्याउने षड्यन्त्र र कसरतहरू भइराखेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो ।

संसद विघटनको घटना सामान्य घटना मात्रै नभइ जनयुद्ध र जनआन्दोलनको बलमा आएका परिवर्तनलाई उल्ट्याउने षडयन्त्रको हिस्सा भएको उहाँको भनाइ छ । ‘अहिले हामीले दश वर्षको जनयुद्धमा कायम गरेका कीर्तिमानहरू र त्यसले ल्याएका निकै ठूलो युगान्तकारी परिवर्तनहरूमाथि बडो निर्मम ढंगले प्रहार भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘प्रतिक्रियावादी वर्ग र तिनका प्रतिनिधिहरूले प्राप्त उपलब्धीलाई सिध्याउन खोजिरहेका छन् ।’

अध्यक्ष दाहालले सर्वोच्च अदालतले फागुत २३ गते गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को खारेज गर्ने फैसलाको विरुद्धमा पुनरावलोकनमा गएको भन्दै सर्वोच्चले आफ्नो फैसलालाई पुनरावलोकन गर्ने विश्वास व्यक्त गर्नुभयो । नेकपा(एमाले) का नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल लगायतका नेताहरू पनि पुनरावलोकनको पक्षमा रहेको भन्दै पुनरावलोकनको पक्षमा रहेको बहुमतलाई सर्वोच्चले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

अदालतको फैसलामा असहमति जनाउँदै आफूहरू पुनरावलोकनमा गएको भए पनि सर्वोच्च अदालतको फैसलालाई आफूहरूले मान्ने उहाँको भनाइ छ ।