
एलबी विश्वकर्मा/नारायणी लामिछाने
काठमाडौं । भू–माफिया चुडामणि गौतम समूहले अतिक्रमण गरेको जग्गामा चन्द्रागिरी नगरपालिकाले डोजर चलाएको छ । भू–माफिया समूहले नगरपालिकाको सार्वजनिक जमिन कब्जा गरेर निर्माण गरेको पर्खाल नगरपालिकाले डोजर लगाएर भत्काएको हो ।
सार्वजनिक जमिन अतिक्रमण गरेर निर्माण गरिएको पर्खालमाथि मंगलबार नगरपालिकाले डोजर चलाएको हो । खोला मिचेर निर्माण गरिएका गरिएका संरचनामा सोमबार नापजाँच गरी मंगलबार बिहान डोजर चलाइएको हो ।
गौतमको नक्सामा खोलाको मोडमा १३ फिट चौडाइ देखाइए पनि सरकारी नक्साले उक्त स्थान ४२ फिट रहेको देखाउँछ । यसैगरी खोला मिचेर दश फिट मात्र देखाइएका स्थानमा सरकारी नक्साले २२–२५ फिट खोला रहेको देखाएको हो ।
गौतम समूह र शर्मा एण्ड शर्मा कम्पनीले २ रोपनी बढी जमिन अतिक्रमण गरेको स्थानीयले बताएका छन् । खोलाको माथिल्लो भेगमा समेत अतिक्रमण गरेर बस्ती नै बसालेका कारण त्यसलाई समेत नगरपालिकाले हेरफेर गर्नुपर्ने स्थानीय विष्णुभट्ट गोपाली बताउनुहुन्छ ।
आफ्नो कार्यकालमा नगरक्षेत्रमा अतिक्रमण गरिएका सबै जमिन फिर्ता ल्याइसक्ने नगरप्रमुख धनश्याम गिरीले बताउनहुन्छ । अतिक्रमण गरिएको जग्गा नगरको स्वामित्वमा ल्याउन खोज्दा थुप्रै दवाव र प्रभावको सामना गर्नुपरेको उहाँको भनाइ छ ।
भू–माफियाका अघि स्थानीय सरकार पनि निरिह बनेको छ । आफूले काम गर्न चाहेका र काम गर्न खोजेका स्थानमा समेत नगरपालिकाको गर्न पाउँदैन । माफियाहरूको सिण्डिकेट तोड्नै सकस पर्छ, सरकारलाई । माफियाहरूले सबैतिरबाट जनप्रतिनिधिका हात बाध्ने प्रयास गरेको नगरपालिका प्रमुख गिरीको तर्क छ ।
गौतम समूहले खोला मात्र कहाँ मिचेको छ र ? स्थानीयले विगतदेखि प्रयोग गर्ने बाटो नै गायव पारिएको छ । यसमा वडा नम्बर ३ का अध्यक्ष दुर्गालाल महर्जनको पनि संलग्नता रहेको स्थानीयको आरोप छ । अध्यक्ष महर्जन पनि लुक्दै हिड्ने गरेको स्थानीयको आरोप छ । शर्मा एण्ड कम्पनी र नेपाल आयल निगमले सार्वजनिक जग्गामाथि गरिएको बलमिच्याइबारे खोजीनिती गर्ने कसले ?
याे पनि पढ्नुहाेस्–
ईमेज समाचार प्रभाव : भुमाफियाको चङ्गुलबाट फुत्काइयो चन्द्रागिरीको जग्गा
प्रतिक्रिया दिनुहोस्