८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


कालोपत्रे भएको पाँच महिना पनि टिकेन सडक


0
Shares

रामेछाप, साउन ९ । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट पुरानो सदरमुकाम रामेछाप बजार जोड्ने १७ किलोमिटर सडक खण्ड कालोपत्रे भएको पाँच महिना पनि टिकेन ।

कालोपत्रे गरेको पाँच महिनामै सडक फुटेर चिराचिरा परेको छ । एशियाली विकास बैंकको आर्थिक सहयोगमा सन् २०१७ को फेब्रुअरी महिनासम्म पूरा गर्ने गरी बज्रगुरु कन्स्ट्रक्सन प्रालिले सडक कालोपत्रेको जिम्मा लिएको थियो ।

तोकिएको समयभन्दा एक वर्ष ढिला सम्पन्न गरेको सडक पाँच महिना नबित्दै बिग्रिएपछि यातायात सञ्चालन गर्न जोखिम भएको छ । 

मन्थलीदेखि रामेछापसम्म १७ किलोमिटरको बीचमा दर्जनभन्दा बढी ठाउँमा सडक भासिने र फुट्ने भएको छ । भित्ता काटेर थुपारेको माटोमाथि नै कालोपत्रे गरेको र आवश्यकता अनुसारको कम्प्रेसन नदिएकाले सडक भासिएको हो ।

निर्माणकै क्रममा ठेकेदारले लापर्वाही गरेपछि स्थानीयले नागरिक निगरानी समिति समेत बनाएका थिए । त्यति गर्दा पनि बाटोको हविगत यस्तो भएको हो ।

बाटोमा गरिएको लापर्वाहीबारे एडीबीलाई जानकारी गराउँदा पनि वास्ता नगरेको स्थानीय जनप्रतिनिधिको गुनासो छ । मन्थली–रामेछाप सडक १४ करोड ६५ लाख रुपैयाँमा निर्माण गरिएको हो ।