१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तुवाँलोको कारण पाँच दिनदेखि हवाई सेवा ठप्प (भिडियोसहित)


0
Shares

डोलराज रानाभाट

भरतपुर । सधै हवाईजहाजको ओहोरदोहोरले निकै रमाईलो अनुभूति गर्न सकिने भरतपुरको यो एयरपोर्ट एरीया अहिले चकमन्न देखिन्छ । हवाईजहाज बस्दा र उड्दाको आवाजले ध्यान उतैतिर खिच्दा सबैको आँखा जहाजभएतिरै खिचिन्थ्यो ।

तर, चितवनको यो भरतपुर बिमानस्थलमा हवाईजहाज नदेखिएको पनि पाँच दिन भईसकेको छ । चितवनमा गत शुक्रवार देखि आकाश तुवालोले डम्म छ । सवारी साधनहरु समेत कमै गुडेको देखिन्छ ।

बाक्लो तुँवालोको कारण भिजिविलिटीमा समस्या हुँदा उडान भर्न नसकिएको भरतपुर नागरिक उड्यान कार्यालयका प्रमुख योगेन्द्र कुँवरको भनाई छ । बाह्रै घण्टा ब्यस्त हुने यो भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका गरी १५ भन्दा बढी उडान हुँदासमेत भ्याईनभ्याई हुन्थ्यो । तर, यसरी उडान ठप्प हुँदा भरतपुर विमानस्थललाई मात्रै दैनिक लाखौ रुपैया नोक्सान भइरहेको छ ।

बुद्ध एअरका भरतपुर शाखा प्रमुख भक्तबहादुर बस्नेतलाई मोवाइल फोन उठाउन भ्याई नभ्याई छ । उडान खुल्यो ? कहिले देखि खुल्छ भन्ने यात्रुको प्रश्नले हैरान भएका उहाँलाई अहिले सम्म यतिका दिनसम्म प्रकृति अनुकुल नहुँदा उडान ठप्प भएको थाहाछैन् । तर, यस पटकको घटनाले उहाँलाई समेत अचम्म त बनाएको छ नै, कोरोनाको कारण लामो समय थलिएको हवाईक्षेत्र अहिले यसरी ठप्प हुँदा अझै कहिले खुल्ने हो अत्तो पत्तो छैन ।

विष्णु खरेल आमाको उपचारका लागि काठमाडाै‌ जानको लागि एयरपोर्ट ओहोरदोहोर गरेको पनि तीनदिन भई सक्यो । विहानै घाम लागेकाले मौसम सफा हुन्छ की भनेर विमानस्थल आइपुग्नुभएको उहाँ उडान बन्द नै रहेको थाहा पाएसँगै निराश देखिनुहुन्छ । तराईका जिल्लामा देखिएको बाक्लो हुँस्सु र तुवाँलो कहिलेदेखि फाट्ने हो र आकाश सफा देखिने हो, मौसमविद्लाईसमेत थाहा छैन् । धुवाँधुलो र तुुवालोले डम्म आकाश ढाकीदा उडान बन्द मात्र हैन, भरतपुरको जनजीवन पनि धुमिल झै देखिन्छ ।

बनमा डढेलो लागेर बाक्लिएको तुँवालो हट्न अझै केही दिन लाग्न सक्छ । कहिले पानी पर्ला र तुवाँलो हट्ला भनि विमान कम्पनी संचालक, यात्रु तथा विमानस्थलका कर्मचारीसमेतका आँखा आकाशतिरै सोझीएको झै देखिन्छ । तर, अहं, तुवाँलो नहट्दासम्म र प्रकृतिले मानवको कुरा नबुझ्दासम्म अझै उडान कहिले सम्म प्रभावित होला यसै भन्न सकिदैन ।