१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महोत्तरीमा बेपत्ता भएका सात बालिका भारतमा भेटिए


0
Shares

काठमाडौं । मंगलबार दिउँसोदेखि बेपत्ता भएका महोत्तरी, भंगाहाका ७ किशोरी तथा बालिका भारत, विहारको सीतामढीमा फेला परेका छन् ।

उनीहरू सीतामढी पुगेको भन्दै भारतीय प्रहरीले नेपाल प्रहरीलाई खबर गरिसकेको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले जानकारी दिनुभयो ।

मेयर साहका अनुसार सबै किशोरी सकुशल छन् । हिजो दिउँसो २ बजे घाँस काट्न गएका किशोरीहरू परिवारको सम्पर्कमा थिएनन् ।

बेपत्ता हुनेमा भंगाहा नगरपालिका–८ धर्मपुरका १८ वर्षका अस्मिता पासवान र नागिना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षका अर्चना पासवान र रिया पासवान, १० वर्षका रञ्जना पासवान र सीमा पासवान छन् ।

उनीहरू बिहार पुगेको खबर आएसँगै नेपाल प्रहरीको टोली त्यसतर्फ गएको छ ।

सम्बन्धित परिवारलाई भने उनीहरू कहाँ गए भन्ने जानकारी नै नभएको बेपत्तामध्ये एक किशोरीका काका मनोज पासवानले बताए ।

साँझ ७ बजेसम्म किशोरीहरू घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।