१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बडिगाड घटनामा संलग्नको आरोपमा पाँच जना पक्राउ


0
Shares

डम्मर बुढा मगर
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० र निसीखोला गाउँपालिका वडा नम्बर ७ को सिमाना बल्देधुरी घटनामा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटना भएको तीन दिनपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

अनुसन्धानमा प्रभाव पर्ने भएकाले नाम सार्वजनिक नगरिएको, थप तथ्य र प्रमाणका आधारमा दोषीलाई कानुनी दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । आफूहरूले अनुसन्धानलाई तीव्र पारेको उहाँको दावी छ ।

होली खेल्ने क्रममा झडप हुँदा भीरबाट खसेर निसीखोला गाउँपालिका वडा नम्बर ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो । उनीहरूको शव घटनास्थलभन्दा करिब ५ सय मिटर तल जङ्गलमा फेला परेको थियो ।

घटनामा ज्यान गुमाएका दुई जनाको परिवारको सहमतिपछि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको छ । शव आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको हवारीले जानकारी दिनुभयो ।