१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पशुपतिमा पूजा भइरहेको शिवलिङ्ग वास्तविक नभएको खुलासा (भिडियो रिपोर्ट)


208
Shares

नरेन्द्र मानन्धर
काठमाडौं । लिच्छवीकालमा बौद्ध स्थलका रूपमा समेत विकसित पशुपति क्षेत्र सनातन धर्माबलम्बीहरूको आस्थाको केन्द्र हो । अहिले पशुपतिमा पञ्चमुखी शिवलिङ्गको पूजा गरिँदै आएको छ । तर, आजभन्दा साढे ६ सय वर्षअघि यहाँ अर्कै चर्तुमुखी शिवलिङ्ग थियो । जुन अहिले पनि पशुपति क्षेत्र भित्रै छ । कसरी हट्यो बास्तविक पशुपतिको शिवलिङ्ग र किन बनाइयो नयाँ ?

पशुपति मन्दिर क्षेत्र सनातन धर्मावलम्बीको आस्थाको केन्द्र हो । कुनै बेला यो बौद्ध र शैव क्षेत्रको रूपमा परिचित थियो । नेपाल मण्डलमा पशुपतिको शिवलिङ्गलाई लुकुमाद्यको रूपमा लिने गरिन्छ । तसर्थ प्राचीनकालमा यहाँ शिवलिङ्ग जमिनमुनि रहेको विश्वास गरिन्छ । पशुपतिको प्राचीन चर्तुमुखी शिवलिङ्ग वि.सं १४ सय ६ मा बंगालका सुल्तान समसुद्धिन इलियासले खण्डित गरेका थिए ।

इलियासले सेनाले पशुपति मन्दिर ध्वस्त बनाएर चर्तुमुखी शिवलिङ्ग तोडेफाेडपछि अहिलेको पञ्चमुखी शिवलिङ्ग बनाइएको हो । खण्डिते शिवलिगं पूजा गर्न नमिल्ने भएपछि वि.सं. १४ सय १७ मा जयसिंहराम वद्र्धनले हालको पञ्चमुखी शिवलिङ्ग स्थापना गरी मन्दिरको जिर्णोद्धार गरेका थिए । त्यतिबेलाको खण्डित चर्तुमुखी शिवलिङ्ग अहिले लङ्गलाक्षी टोलमा राखिएको छ ।

शिवलिङ्गमा समसुद्धिनका सेनाले प्रहार गर्दा उत्तरमुखमा दायाँ आँखा छैन भने दक्षिण मुखको शीर चोइटिएको छ । साथै शिवको बहान नदीको मुख पनि टुक्रिएको छ र बौद्ध चैत्यमा पनि चोट देखिन्छ । यही चर्तुमुखी शिवलिङ्ग भुतेश्वर महादेवको नाममा रुखमुनि खुल्ला रूपमा रहेको थियो । पछि २०४२ सालमा मात्र शंकराचार्यको मूर्ति स्थापना गरेर मन्दिर बनाएको स्थानीय शंकरमान भण्डारीको भनाइ छ । यो शिवलिङ्ग नै वास्तविक प्रातकालको रहेको उहाँ बताउनुहुन्छ ।

प्राचीनकालमा यहाँ बौद्ध विहार र चैत्य समेत रहेको तिब्बती स्राेतमा उल्लेख छ । हाल पनि प्राचीन बौद्ध चैत्य र चर्तुमुखी शिवलिङ्गसँगै राखिएको छ । बौद्ध विद्धान एवं तिब्बती भाषाविज्ञ पुण्य प्रसाद पराजुलीका अनुसार यो चर्तुमुखी शिवलिङ्ग अहिलेको पूजा गरिँदै आएको शिवलिङ्ग भन्दा पुरानो र वास्तविक हो ।

पशुपति मन्दिरभित्र अहिले पनि चैत्य रहेको जानकारहरू बताउँछन् । तसर्थ यो पुरानो चर्तुमुखी शिवलिङ्ग र बौद्ध चैत्यलाई केन्द्र विन्दुमा राखेर अन्य सम्पदाहरूको गहन अध्ययन अनुसन्धान गर्न सके यो क्षेत्रको थप नयाँ तथ्य उजागर हुनसक्ने देखिन्छ ।