
काठमाडौं । नेपालमा चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव ७ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपणले देखाएको छ ।
विश्व बैंकले ‘साउथ एसिया इकोनोमिक फोकसः साउथ एसिया भ्याक्सिनेट्स’ रिपोर्ट सार्वजनिक गर्दै उक्त प्रक्षेपण गरेको हो ।
त्यस्तै अर्को वर्ष ३ दशमलव ९ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण पनि विश्व बैंकले गरेको छ ।
खासगरी कोरोनाले प्रभावित अर्थतन्त्र पुनरुत्थान हुँदा सन् २०२३ सम्म ५ दशमलव १ प्रतिशतले आर्थिक वृद्धि हासिल हुने विश्व बैंकको प्रक्षेपण छ ।
नेपालमा रेमिट्यान्स अनुमान गरेभन्दा बढी भित्रिँदा त्यसले आर्थिक क्षेत्रमा फाइदा पुगेको विश्व बैंकको रिपोर्टमा उल्लेख छ ।
यस अघि विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने जनाएको थियो ।
वर्ष २०२१ मा समग्र दक्षिण एसियाकै आर्थिक बृद्धि सुधारिएर ७ दशमलब २ प्रतिशत पुग्ने पनि बैंकको प्रक्षेपण छ ।
गत बर्ष यस क्षेत्रको बृद्धिदर इतिहासकै सबैभन्दा कम ५ दशमलब २ प्रतिशतले ऋणात्मक रहेको थियो ।
यस क्षेत्रको ठूलो अर्थतन्त्र भएको भारत चालु आर्थिक वर्ष २०२१Þ÷०२२ मा १० प्रतिशत माथिको आर्थिक वृद्धि हासिल गर्न सफल हुने विश्व बैंकको प्रक्षेपण छ ।
यस अघि विश्व बैंकले जनवरीमा भारतले ६ दशमल ३ प्रतिशत आर्थिक वृद्धि गर्ने प्रक्षेपण गरेको थियो ।
यस क्षेत्रमा कोरोना महामारीलाई नियन्त्रणमा राखेर कोरोना भ्याक्सिन अभियान सञ्चालन गर्नसक्नाले आर्थिक वृद्धिमा सुधार आउने संकेत देखिएको विश्व बैंकको भनाइ छ ।
तथापि आर्थिक वृद्धि छिटो र समतामूलक खोप हस्तान्तरण र रोकथाममूलक स्थास्थ्य क्षेत्रमा लगानीमै भर पर्ने पनि विश्व बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्