
काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेतीले युवा पुस्तालाई सहकारीप्रति आकर्षित गर्न विद्यालय तहको पाठ्यक्रममै सहकारिता तथा वित्तिय साक्षरतालाई समेट्नुपर्ने बताउनुभएको छ ।
६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ काठमाडौं लिमिटेड, तारकेश्वर नगर उप–समितिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष उप्रेतीले सहकारी आन्दोलनमा युवा पुस्तालाई थप आकर्षित गरिनुपर्नेमा जोड दिनुभयो।
‘सहकारिता तथा वित्तिय साक्षरतालाई विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरेर नयाँ पिढीलाई सहकारीको अभियानमा जोड्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसको लागि हामीले सम्बद्द पक्षहरूसँग छलफलमा छौं ।’
सहकारीहररूले बचत तथा कर्जा प्रवाहलाई मात्र प्राथमिकता नदिइ कृषि, उत्पादन, बजारीकरण, सहभागीता र सहकार्यमा जोड दिनसके सहकारिताको आन्दोलन अघि बढ्ने अध्यक्ष उप्रेतीको भनाइ छ ।
कार्यक्रममा काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेडका सञ्चालक राजकुमार खड्काले सहकारी संस्थाहरूलाई सुदृढ एवं गतिशील रूपमा सञ्चालान गर्न आवश्यक राय–सल्लाह, तालिम र सहजीकरणको लागी संघले सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
तारकेश्वर नगरपालिका सहकारी शाखाका प्रमुख तीर्थराज थापाले सहकारीहररूले उच्चतम वित्तिय अनुशासन कायम गर्दै बदलिँदो समयसँगै प्रविधिमैत्री समेत हुनुपर्ने कुरामा जोड दिनुभयो ।
जिल्ला सहकारी संघ लिमिटेड काठमाडौंका महासचिव मनोज भण्डारीले सहकारीको प्रकृति र प्रवृत्ति अनुसार स्थानीयताको आवश्यकता र सम्भावनालाई मध्यनजर गर्दै नगर भित्रका सहकारीहरूले सहकारिताका अभियान र क्रियाकलाप सञ्चालनमा प्राथमिकता दिनुपर्नेमा बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक एवं जिल्ला सहकारी संघ लिमिटेड काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले सहकारीहरूलाई आवश्यक सहजीकरण, समन्वय र समस्या निराकरणको लागि संघ सहयात्रीको रूपमा सक्रिय रहेको बताउनुभयो । संस्थाहरूले सहकारिताका मूल्य, मान्यता, विधि र पद्धतिलाई पूर्णतः अबलम्बन गर्न सक्नुपर्नेमा उहाँको जोड छ ।
समितिले आगामी दिनमा वडा तहसम्मनै कमिटी निर्माण गरेर सहकारीहरुबिच सहकार्य, समन्वय र अनुभव आदानप्रदान गर्दै अघि बढ्ने नीति तय गरेको नगर उप–समितिका सचिव एवं स्थानीय गोल्डेन अर्थ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कबिन्द्र रिमालले बताउनुभयो।
जिल्ला सहकारी संघ काठमाडौं लिमिटेडले यस बर्षको लागि तय गरेको नारा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ रहेको छ।
नेपालमा सहकारी स्थापना भएको ६४ वर्ष पूरा भएको छ। देशमा पहिलो सहकारी स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । २०१३ चैत २० मा चितवनमा स्थापना भएको बखान सहकारी संस्था नेपालको पहिलो सहकारी संस्था हो ।
हाल देशभर करिब ३५ हजार सहकारी संस्था छन् । सहकारी विकास बोर्डले तयार पारेको सहकारी क्षेत्रको २५ वर्षे रणनीतिक योजनामा आगामी २५ वर्षमा सो संख्या घटाएर १५ हजारमा सीमित गर्ने लक्ष्य तय भएको छ।
प्रतिक्रिया दिनुहोस्