
प्रदीप पौडेल
पोखरा । नेकपा एमाले कास्कीमा शुक्रबार समानान्तर कमिटी गठन गरिएको छ । कमिटी अध्यक्षमा धनराज आचार्य चयन हुनुभएको छ ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र सुरेन्द्र पाण्डेको उपस्थितिमा पोखरामा आयोजित कार्यकर्ता भेलामा आचार्यको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटी सचिवमा होम नेपाली छन् । छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीलाई औपचारिकता दिइने बताइएको छ ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि कास्कीमा समानान्तर गठन गर्न नेता नेपाल पोखरा आउनुभएको हो ।

कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले ओलीले कम्युनिष्ट पार्टी ध्वस्त गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले ओलीले विधि र पद्धतिमार्फत पार्टी सञ्चालन नगरी कम्पनीको रूपमा चलाएको आरोप लगाउनुभयो । ‘पार्टीमा यो जुँगाको लडाइँ होइन, पार्टी र पद्धतिको लडाइँ हो,’ उहाँले भन्नुभयो ।
कमिटीकाे अध्यक्ष चयन हुनुभएका कास्कीको भरतपोखरीका आचार्य नेकपा एमाले उद्योग वाणिज्य क्षेत्रका निवर्तमान केन्द्रीय अध्यक्ष हुन् । पार्टीको केन्द्रीय विभागको सदस्य, जिल्ला कमिटीका पूर्व सचिवालय सदस्य तथा पृथ्वीनारायण क्याम्पस पोखरा स्ववियूका पूर्व अध्यक्ष समेत हुन् ।
कास्की क्षेत्र २ बाट स्व. रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईले प्रतिनिधिसभाको चुनाव लड्दा आचार्य चुनावी कमाण्डर थिए ।
प्रतिक्रिया दिनुहोस्