
-संजिव कार्की
घटना रिपोर्टर्स क्लबको हो । सरकारले पेल्यो शिक्षा मन्त्रीले पेले अब हामी मेडिकल कलेज चलाउन सक्दैनौ सरकारलाई यस्तै रवैया रहे आ–आफ्नो मेडिकल कलेजको साचो बुझाउछौ । सरकारी नियम र नीति भन्दा पर गएर बिद्यार्थीसंग शुल्क असुली गर्छौ अन्यथा कलेज अस्पताल चलाउन सक्दैनौ । मेडिकल उद्धमीहरुले पत्रकार सम्मेलन गरेर सरकारको नाडी छामे । सामान्य बिरोध, असहमति अनि ब्यबसायिक पीर मर्का जसका पनि हुन्छन उनीहरुका पनि होलान तर आफ्ना अप्ठ्यारा बेदना सुनाउनुका साथ साथै एक मेडिकल साहु जसले घमण्ड र अहंकारयुक्त भाषामा यस्तै रवैया रहने र हामीलाई (मेडिकल कलेज संचालकहरु) पेल्दै जाने हो भने हामी मन्त्रीलाई कुर्सीबाट बाहिर फालिदिन्छौ यो लेखेर राख्नुस ।
यस्तो धम्की र अहंकारले भरिएको भाषा बोल्ने व्यक्ति हुन सुनिल शर्मा जो गत संबिधानसभाको चुनावमा नेपाली कांग्रेसको तर्फबाट मोरंगमा संसद सदस्यको लागि प्रत्यासी बनेका थिए । स्मरण रहोस यो संसदमा नेकपा दुई तिहाई शक्ति लिएर रहेको छ । बिडम्बना कांग्रेसका पराजित उम्मेदवार सरकारको मन्त्रीलाई कुर्सीबाट हुत्याइदिने , सत्ताच्यूत गरिदिने उदघोष गर्छन । यो धम्की र शक्तिको सामर्थ्य पक्कै बिपक्षी नेपाली कांग्रेस नहोला किनकी आफ्नै बुतामा सांकेतिक बिरोधको रुपमा अविश्वासको प्रस्ताव दर्ता गर्ने बैधानिक हैसियत समेत कांग्रेसको नभएको पुनः स्मरण गराउन सान्दर्भिक होला । यस्तो बेला सुनिल शर्मालगायत मेडिकल व्यवसायीको धम्की ब्यबसायिक गठजोड र ‘ब्ल्याक मनी’ सरकार प्रतिपक्ष लगायत अरुलाई किन्ने ल्याकत हो भनेर अनुमान गर्न सकिन्छ । अन्यथा बैधानिकता भन्दा माथि र तल जाने छूट सरकार र ब्यबसायी दुवैलाई छैन, हुदैन । बरु कानुन मातहत नै रहेर सरकारले कहिलेकाहीं बलजफ्तीको भाषा बोल्न सक्छ उस्तै परे सरकार या राज्य संयन्त्र बैधानिक हत्यारा बन्न सक्छ । यो सरकारले गर्ने र गरि आएको विश्व मानचित्रको हदैसम्मको अभ्यास हो । जुन अप्रिय छ सर्वथा निन्दित र बिबादित हुन्छ ।
यसर्थ कसैको पनि धम्की, घुर्की र पेलाई सह्य हुँदैन । गलत नियत र उदेश्य सहित सरकारले मेडिकल ब्यबसायीलाई पेल्छ भने उसले आत्मसुरक्षाको भाषा बोल्न पाउँछ । ब्यबसाय गर्ने या नगर्ने निर्णय गर्न सक्छ । व्यावसायिलाई इन्साफ भएन, मर्का नै पर्यो भने जनताले साथ दिन्छन सरकारले अन्याय गर्न पाउदैन । तर देशको बिधि बिधान भन्दा माथि बसेर पैसाको आडमा जे पनि गर्ने र गर्दा हुन्छ भन्ने मानसिकता गलत हो । सरकार किन लाचार छ पार्टीहरु किन मौन छन् ? बिद्यार्थी संघ संगठनहरु किन मुखमा बुझो लगाएर बसेका छन् ? सधै र जहिल्यै मेडिकल शिक्षाको बेथितिको बारेमा डाक्टर गोविन्द केसीले मात्र ‘मृत्यु–पत्र’मा हस्ताक्षर गरेर सुत्ने ठेक्का अवश्य छैन होला ? बेलगाम शिक्षामा व्यापार र लुट टुलुटुलु हेरेर बस्नु नेपाली जनताको भाग्यमा लेखेको कुरा हो ।
समाजवादी मार्गमा हिड्ने नेपालको संविधानको प्रतिवद्दता पक्कै पनि शिक्षा र स्वस्थ्यको व्यापार र अपचलन थिएन । लोक कल्याणकारी राज्यले शिक्षा र स्वास्थ्यमा व्यापार प्रवर्दन गरेर लुटको साम्राज्ज्य फैलाउन दिनु नपर्ने हो । बाटो गलत रहेछ भने मार्ग बदल्ने सुझबुझ पूर्ण निर्णय र कार्य जरुरी हुन्थ्यो । गलत बाटो हिंडेपछि गन्तव्यमा पुग्न सकिदैन भन्ने हेक्का र चेत आउन अझै किन ढिला ? मेडिकल कलेजको अबैध धन्दालाई अझै किन राजनीतिको संरक्षण ? अबैध धन्दा र कारोबार बर्जित गराउने राज्यको कानुन किन यति निरिह र लाचार । कानुनको परिपालना गराउने निकायको जुम्सोपन भित्रको स्वार्थ र हिसाबकिताब किन निर्लज्ज ? सरकारी मापदण्ड भित्र पढन पाउ, अनावश्यक र अनाधिकृत रकम तिर्न मन्जुर छैनौ जजसले तिरे तिनको रकम फिर्ता पाउ भनी देशभरका मेडिकल विधार्थीले पढाई छोडेर आन्दोलन गर्नुपर्ने परिस्थितिलाई सरकार किन सामाधान गर्न चाहदैन । कलेज संचालकहरुको मनोमानी र मनपरीतन्त्रले छूट पाउने अनि बिद्यार्थी र अभिभावक मर्कामा पर्ने यो कस्तो नियमको परिदृश्य हो ।
नियममा प्वाँल पारेर त्यसको अनुचित फाइदा उठाउन किन सधै अभ्यस्त छ नेपाली समाज ? मेडिकल कलेजका संचालकहरुको निकटता र कनेक्सन राजनीतिक पार्टीसंग भएको कारण सर्वसाधारणले कति दिने कति समय यिनको शोषणको लागि आफुलाई सधै तयार पार्ने ? नियम भन्दा बाहिर गएर शुल्क असुली गर्दा पनि सरकार र पार्टीहरु किन लाचारी व्यक्त गरिरहन्छन ? अर्बौं रकम अनाधिकृत रुपमा दोहन गर्दा पनि राज्य चुपचाप बस्नु कुनै एक्सनमा नजानु अझ मेडिकल साहुजीहरुको शिक्षा मन्त्रीलाई पछार्ने धम्की आउनुको भित्री कारण र परिवेशलाई अब पनि नबुझ्ने हो भने हामी कस्तो शासन व्यवस्था मार्फत शासित छौं शासक को हो ? कार्यकारी अधिकार प्राप्त निर्वाचित निकायले शासन गर्छ कि पर्दा भित्रबाट अरुकै हुकुम प्रमांगी चल्छ ? सोचनीय ,विचारणीय प्रश्न र गहन सबाल हो ।
छापा माध्यमबाट ठगिएको रकमको फेहरिस्त बाहिर आएको छ । अपारदर्शी कारोबार हुदाँ पनि विद्यार्थीको भविष्य डामाडोल हुने गरि पढाई अवरुद्द हुँदा पनि सरकार जुन ढंगले अगाडि आउनुपर्ने हो त्यसो नहुनु, आक्रामक नबन्नु खेदजनक छ । ढिलाढाली सुस्त र मेडिकल कलेजकै हित हुने गरी सरकारको प्रस्तुतिले सरकार प्रत्यक्ष रुपमा नै मेडिकल क्षेत्रको विकृतिविरुद्द उभिने साहस गर्दैन कारण उसले पनि साहुहरुबाट नायाजय फाइदा लिएको छ । नैतिक रुपमा सग्लो छैन सरकार सम्बद्ध दल र नेताहरु । त्यसैले पनि मेडिकल संचालकहरुको धम्कीलाई सहनु परेको छ । सहने बाध्यता छ । मेडिकल कलेजलाई बैधानिकताको खोल ओढाएर लुट्ने छूट दिन नेकपा र नेकाका नेताहरुको गुप्त मिलेमतो छ । यस्तो नहुँदो हो त यी दल सम्बद्ध बिद्यार्थी संघ संगठनहरु अनेरास्ववियु, नेपाल बिद्यार्थी संघ चुप लागेर बस्ने थिएनन । चितवनमा भएको प्रदर्शनमा मेडिकल विद्यार्थी भन्दा अघिल्लो हारमा हुने थिए । स्वार्थको लेनदेन , बेचबिखन र सौदाबाजीमा बिद्यार्थी संघ संगठन, लडाकु वाईसीएल, युवा संघ, तरुण दल लगायतका सम्पूर्ण उर्जाशील र गतिशील युवाहरु चुप रहनुको मतलव हो माउ पार्टीको गुप्त निर्देशनमा यिनीहरुको अलमल छ । सानो बक्तब्य बाजी छ तर आफ्नो बिद्यार्थी स्प्रिट छैन भूत्ते छ ।
सबैलाई थाहा छ काला ब्यापारी, माफिया, खुफिया, तस्कर , दलालको कुनै पार्टी विशेष हुदैन कुनै सिद्दान्त हुँदैन । कुनै वादको आदर्श हुँदैन । केवल आफ्नो लागि संरक्षण गर्ने पार्टी भए पुग्छ । देश र जनताप्रति कुनै उत्तर दायित्व वहन गर्नु पर्दैन केही नेतालाई रिजाए पुग्छ । रंगविहीन सिद्दान्तको झोली बोकेर जता पनि पस्न, निस्कन र मिसिन सक्ने खुवी हुन्छ । पानी रंगको सिद्दान्त बोकेर पैसाको ब्रिकफेस उचालेर यिनीहरु कहिले ब्यापारी बन्छन । कहिले राजनीतिज्ञ बनेर चुनाव लडन पुग्छन । बिभिन्न पार्टीमा सेल्टर निर्माण गर्छन र आफ्नो प्रभाव बनाउछन । भिन्न भिन्न पार्टीमा लाग्छन तर आफ्नो स्वार्थसिद्ध गर्न एक ठाउँमा बस्छन । बिभिन्न पार्टीको माध्यमबाट प्रतिनिधि बनेर आधिकारिक र बैधानिक निकायमा पुग्छन अनि प्रणाली कब्जा गरेर बैधानिकताको खोल भिरेर देश चुस्न, जनताको खोक्रो भकारी अझ खोक्रो पार्न लागिपर्छन । अलिकति संकट आयो कि आफ्नो ओरिजनल ठाउँमा गठजोड गर्न आइपुग्छन आफ्नो कित्तामा उभिन्छन । वर्गीय स्वार्थको लागि सबै एकै ठाउमा लामवद्द हुन्छन ।
बिद्यार्थी आन्दोलन र नेपाल सरकारको थोरै एक्सनले पनि तिल्मिलाएर अहिले सबै मेडिकल मालिकहरु एकै ठाउँमा बसेर शिक्षा मन्त्रीलाई भुइमा पछार्ने धम्कीको विगुल बजाउँदै सरकारसंग बिभिन्न माग सहित प्रस्तुत भएका छन् । सरकारलाई चाबी बुझाउने, नयाँ बिद्यार्थी भर्ना नलिने अल्टिमेटम दिदैछन । अचम्म शक्तिशाली सरकार निधो भएर सब हेरिबसेको छ । घुर्की सहने सरकारको बाध्यता देखेर ताज्जुब नमान्ने कोही छैनन् । शिक्षा र स्वाथ्यमा भएको निजीकरण हटाउने र हिजोको कमजोरी सुधारेर आफ्नो पुर्ववत नीति शिक्षा र स्वास्थ्यमा राज्यको अपनत्व लिने अवसर आएको छ । सर्वसुलभ शिक्षा स्वास्थ्य राज्यले आफ्नो दायित्वमा राख्ने महान अवसर आएको छ । शिक्षा र स्वास्थ्यमा बहाल निजीकरण अन्त्य गरि लोककल्याणकारी राज्यमा सरकारले लिने एक्सन र समाजबादको उत्तम जग राख्ने अवसरलाई चुक्न दिनुहुन्न । देशको अत्यावश्यक कार्य सम्पादनमा बाधा नहुने गरि यो वर्सको बजेट स्वास्थ्य र शिक्षामा खर्च गरौ ।
देशभर स्वास्थ्य सेवामा पूर्वाधार निर्माण गरौ। स्वास्थ्य जनशक्तिको जोहो गरौ शिक्षालाई ब्यबस्थित र उदेश्यमुलक बनाउ । यतिबेला सरकारलाई के पनि सजिलो छ भने सबै निजी मेडिकल कलेजका संचालकहरु सम्पति छानबिन आयोगगमा सत्यापन जचाउन, सम्पतिको शुद्धता जाँच्न जानुपरेको स्थिति छ । यदि अनुसन्धान कतैबाट प्रभावित नहुने हो न्याय र इन्साफका आखाले मात्रै हेर्ने हो भने सम्पतिको श्रोत खुलाउन नसक्दा सबैजसो मेडिकल संचालकहरु खोरमा पुग्ने निश्चित छ । अर्को सजिलो भनेको कार्यबाहीको लिस्टमा सरकार वाला पार्टीका र विपक्षी दुवैका समर्थक ब्यबसायी छन । जसले गर्दा एकातर्फी सरकारले पेल्यो । बदला लियो । प्रतिसोध साँध्यो भन्ने अवगाल पनि पर्दैन । बायास्ड भएको अर्थ पनि हुदैन ।
जनता खुट्टाले मात्रै होइन टाउकाले टेकेर पनि यो कुराको समर्थन, मेडिकल कलेजको राष्ट्रियकरणको पक्षमा हुन्छन । लगानीकर्तालाई उचित क्षतिपूर्ति सहित राज्यले शिक्षा र स्वास्थ्यमा नयाँ फडको मार्ने, नयाँ पाइलो शुरु गर्न अवसर र उपलब्धिको दिन घोषणा गरेर ब्यबहारिक कार्यन्वयनमा जानुमा सरकार देश र जनताको भलो छ । यो निर्णयले मुलुकमा कसैले हार्नु पर्दैन । सरकारले गुमाउनु पर्दैन । व्यवसायीहरुले पनि सरकारलाई सहयोग गरेको गुड म्यासेज दिनसक्छन । इतिहास रच्ने सुवर्ण मौका प्रधानमन्त्री ओलीलाई आएको छ । प्रधानमन्त्री ओली उनका सल्लहाकार, बिद्यार्थी संघ संगठनका नेताहरु, बिपक्षी पार्टी सबैले बुद्धिमता पुर्वक गलत कोर्षमा हिंडेको शिक्षा र स्वास्थ्यको मार्गलाई करेक्सन गर्ने मामलामा आफ्नो बुद्धी र खुवी प्रदान गरुन । नेपालीहरुको महान चाड दशैको शुभकामना सहित भगवती माँतासँग हामी सबैलाई सद्बुद्दी प्रदान गरुन भन्ने प्रार्थना ।
प्रतिक्रिया दिनुहोस्