२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


प्रहरीले हत्या गरेका जर्ज फ्लोइडको नयाँ भिडियो सार्वजनिक, भनेका थिए– ‘म खराब व्यक्ति होइन’


0
Shares

एजेन्सी । गत वर्ष अमेरिकी प्रहरीको ज्यादतीका कारण मारिएका अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोइडको नयाँ भिडियो सार्वजनिक भएको छ ।

हत्या अभियोगमा आरोपित पूर्व प्रहरी अधिकारीको सुनुवाइको क्रममा अदालत समक्ष नयाँ भिडियो सार्वजनिक गरिएको हो । प्रहरीले प्रयोग गरेको ‘बडी क्यामरा’ को भिडियोमा फ्लोइडले ‘म खराब व्यक्ति होइन’ भन्दै बिन्ती गर्दै गरेको देखिन्छ ।

पूर्व प्रहरी अधिकारी डेरेक चोभनमाथिको हत्या अभियोगको सुनुवाइको तेस्रो दिन हिजो नयाँ भिडियो सार्वजनिक गरिएको थियो । सो भिडियोमा फ्लोइडले आफूलाई क्षति पुग्ने खालको गतिविधि नगरिदिन आग्रह गरेको समेत देखिने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

भिडियो फुटेजमा चोभनले फ्लोइडको घाँटीमा ९ मिनेट भन्दा बढी सयम घुँडाले थिचेको देखिएको बीबीसीले उल्लेख गरेको छ । ४६ वर्षका फ्लोइडको गत वर्ष प्रहरी हिरासतमा निधन भएको थियो ।

फ्लोइडलाई पक्राउ गर्ने क्रममा प्रहरीको ज्यादतीको भिडियो सार्वजनिक भएसँगै अमेरिकासहित विश्वभर प्रहरी प्रशासनको फरक व्यवहार र रंगभेदलाई लिएर विरोध भएको थियो ।