१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आशङ्काले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्नेको संख्या न्यून


0
Shares

प्रज्ञा तिमल्सिना
काठमाडौं । नेपालमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन सुरु भएको १८ वर्ष भयो । ६३ जिल्लाबाट खुवाउन सुरु भएको औषधि हाल १२ जिल्लामा खुवाउने गरिएको छ । तर, वार्षिक रूपमा ठूलो रकम खर्च गरेर औषधि सेवन अभियान सुरु भए पनि अपेक्षा अनुरुपको लक्ष्य भने हासिल हुन सकेको छैन ।

चैत्र २० गते देखि सुरु हुने हात्तीपाइले रोगविरुद्धको आम औषधि वितरणका लागि सरकारले यस वर्ष १८ करोड ६१ लाख ५० हजार रकम विनियोजन गरेको छ । १२ जिल्लाका ७० लाख ४५ हजार व्यक्तिलाई औषधि खुवाउने तयारी गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

तर, लक्ष्य अनुसारको औषधि खपत भने कुनै वर्ष पनि हुँदैन । जसका कारण एक वर्ष किनिएको औषधि अर्को वर्ष समेत प्रयोग गर्ने गरिएको पाइएको छ । हात्तीपाइले रोगविरुद्धको औषधि प्रतिको मानिसहरूको आशङ्काका कारण प्रत्येक वर्ष लक्ष्य अनुसारको औषधि सेवन हुन सकिरहेको छैन ।

हात्तीपाइले रोगको संक्रमण देखिएकाले यस वर्ष झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा औषधि खुवाउने तयारी छ । औषधी खुवाउने कार्यक्रम ६३ जिल्लाबाट १२ जिल्लामा झरे पनि नेपालभर अहिले १७ हजार २ सय हात्तिपाइले रोगी छन् ।

जसमा ११ हजार ५ सय हाइड्रोसिलको समस्या भएका र ५ हजार ७ सय खुट्टा सुनिने समस्या भएका छन् । सरकारले हाइड्रोसिलको समस्या भएकाहरूको निःशुल्क शल्यक्रिया समेत गर्ने गरेको छ । तर, औषधि खानेको तथ्याङ्क कम हुँदा हात्तिपाइले रोग निवारणमा भने समस्या देखिएको छ ।

क्युलेन्स नामक संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग शरीर भित्र परजीवी प्रवेश गरेको ६ देखि ७ वर्ष पछि मात्र लक्षण देखिन्छ । जसका कारण सरकारले एक जिल्लामा लगातार ५ वर्ष औषधि खुवाउने गरेको छ ।

कहिल्यै निको नहुने हात्तीपाइले रोग निराकरणका लागि औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ । लगातार औषधिको सेवन पश्चात संक्रमण हुन नदिने हात्तीपाइले रोगको औषधि सेवन प्रति जनचेतना फैलाउन आवश्यक देखिन्छ ।