
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको गुणस्तरलाई माथि उकास्नुपर्ने बताउनुभएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छनोटमा परेका विद्यालयहरूको विवरण प्रस्तुत गर्ने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको गुणस्तरमा ध्यान पु¥याउनुपर्ने बताउनुभएको हो ।
विद्यार्थीको ध्यानाकर्षण हुने, विद्यार्थीले बुझ्ने खालको शिक्षण विधि र शिक्षकको सम्प्रेषण कला हुनुपर्ने उहाँले बताउनुभयो । भौतिक संरचनाको विकासले मात्रै शैक्षिक गुणस्तर कायम नहुने भन्दै उहाँले शिक्षकको गुणस्तर र शिक्षण विधिमा ध्यान दिनुपर्नेमा जोड दिनुुभयो ।
‘शिक्षककै गुणस्तर माथि नउठाइ विद्यार्थीको गुणस्तर माथि उठाउन सक्दैनौं, त्यसको लागि शैक्षिक वातावरण विद्यालयहरूमा अनिवार्य रूपमा उपयुक्त किसिमका शैक्षिक वातावरण हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘उपयुक्त शिक्षक क्वालिटी हुनुपर्दछ । शिक्षकको क्वालिटी समय–समयमा टेष्ट गरिनुपर्छ । शिक्षक आफ्नो विद्यार्थीको लागि उत्तरदायी हुनुपर्छ ।’
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत देशभरका ४ हजार २ सय ५० वटा विद्यालयहरूलाई कक्षाकोठा, शौचालय, शैक्षिक सामाग्री, सूचना प्रविधि, ल्याव तथा पुस्तकालय, नविन प्रविधि, विशेष विद्यालय र भौतिक पुर्वाधार तथा शैक्षिक विकास शिर्षकमा बजेट विनियोजन गरिएको पनि बताउनुभयो ।
विद्यालयको छनोट प्रक्रिया उपयुक्त विधिका साथ भएको र आगामी वर्षहरूमा पनि विद्यालयहरूमा यस प्रकारका कार्यक्रमहरू नीति, कार्यक्रम र बजेट मार्फत पार्दै जाने प्रधानमन्त्री ओलीले बताउनुभयो । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि ५ अर्ब ६ करोड बजेट छुट्याएको छ ।
प्रधानमन्त्री ओलीले सरकारले विद्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार लगायतका शैक्षिक सामाग्री र उपकरणहरु विद्यालयहरुमा पु¥याउन लागेको बताउनुभयो । स्वास्थ्य सम्बन्धी प्रवन्ध सहितको विद्यालय हुनुपर्नेमा पनि प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्