१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अर्थतन्त्र उकास्ने किमको प्रयास


0
Shares

एजेन्सी । उत्तर कोरियाका प्रमुख किम जोङ उनले हाउजिङ निर्माण परियोजनाको साइटमा यसैहप्ता दोस्रो पटक भ्रमण गरेका छन् ।

राजधानी प्योङयोङमा ६० हजार नयाँ अपार्टमेन्ट निर्माण गर्ने भनिएको यस परियोजनालाई तिव्रताका साथ अघि बढाउन उनले फेरि पनि निर्देशन दिएको बताइएको छ । जापान नजिकको समुन्द्री क्षेत्रमा दुईवटा नयाँ ब्यालेस्टिक मिसाइल लन्च गरेको दुई दिनपछि नै किम हाउजिङ निर्माण परियोजनातर्फ लागेका हुन् ।

सो रकेट लन्चले अहिले अमेरिकामा अधिक दबाब उत्पन्न गराइरहेको छ । आर्थिक संकटका कारण यसअघिका केही उल्लेखनीय परियोजनाहरु अवरुद्ध भइरहेका बेला उत्तर कोरियाले गत हप्ता प्योङयोङमा दश हजार नयाँ अपार्टमेन्टको निर्माण कार्य सुरु गरेको हो । उत्तर कोरियाको राष्ट्रिय सञ्चार केसिएनएका अनुसार किमले हाउजिङ निर्माणको महत्वमा विशेष जोड दिएका छन् ।

नागरिकको जीवनस्तरमा सुधार ल्याउन यो समस्याको तत्काल समाधान गर्न आवश्यक रहेको उनको भनाइ छ । यसअघि किमले उत्तर कोरियाली अर्थतन्त्र विकासको पाँच वर्षे नयाँ महत्तवकांक्षी योजनाबारे घोषणा गरेका थिए । तर, ती परियोजनाहरुले धेरै ठूला चुनौतिको सामना गर्नुपर्ने देखिन्छ ।

किनकी आणविक हतियार र मिसाइल कार्यक्रमका कारण उत्तर कोरियामा अन्तर्राष्ट्रिय प्रतिबन्ध अझै जारी छ । यता कोभिड–१९ नियन्त्रणका लागि उत्तर कोरियाले अपनाएका उपायहरु मानव अधिकार उत्पीडन गराउने किसिमको भएको र नागरिकहरु चरम आर्थिक कठिनाइबाट गुज्रिँदा भोकमरी लगायतका घटनाबारे रिपोर्ट गरिएको संयुक्त राष्ट्र संघले बताएको छ । तर, अझैसम्म पनि उत्तर कोरियाले कोरोना भाइरसको संक्रमण संख्याबारे आधिकारिक रिपोर्ट दिएको छैन ।