
काठमाडौं । सरकारले शुक्रबार बिहान विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गर्यो । विगत १८ वर्षदेखि सञ्चार क्षेत्रमा आबद्ध हुमागाईंलाई चार वर्षका लागि खुला प्रतिस्पर्धाबाट नियुक्त गरेको हो ।
को हुन् हुमागाईं ?
हुमागाईं ईमेज च्यानलको प्रमुख कार्यकारी अधिकृतको रूपमा डेढ वर्षदेखि कार्यरत हुनुहुन्छ । नेपाल टेलिभिजनको पूर्व महाप्रबन्धक लक्ष्मण हुमागाईं निजी क्षेत्रको जनता टेलिभिजनको संस्थापक महाप्रबन्धक हुनुहुन्थ्यो ।
करिब १८ वर्षसम्म समाचारदाता, समाचार सम्पादक, वरिष्ठ समाचार सम्पादक हुँदै उहाँ नेपाल टेलिभिजनको महाप्रबन्धक हुनुभयो । सार्वजनिक संस्थान निर्देशन बोर्डले लिएको खुल्ला प्रतियोगितामा नेपाल टेलिभिजनको महाप्रबन्धक हुने उहाँ पहिलो र अन्तिम व्यक्ति समेत हुनुहुन्छ ।
सञ्चार विज्ञको रूपमा परिचित हुमागाईं सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यमको नेतृत्व गर्नु हुने एक कुशल व्यवस्थापकका साथै पत्रकार समेत हुनुहुन्छ ।
सरकारी तथा निजी क्षेत्रको उच्च व्यवस्थापमा रही सूक्ष्म अध्ययन, अनुसन्धान का साथै ज्ञान, सीप र दक्षता हासिल गर्ने अवसर प्राप्त गरेका हुमागाईं विगत चार वर्षदेखि विज्ञापन सङ्घ नेपालको सल्लाहकार रही विज्ञापन बजारको बारेमा समेत गहिरो अध्ययन गर्नुभएको छ ।
विज्ञापन रहित नीति (Clean Feed Policy) २०७३ को मस्यौदाकार हुमागाईं नीति कार्यान्वयनमा निरन्तर पहल गर्ने एक अभियन्ताको हुनुहुन्थ्यो । उक्त नीति लागू हुन नसकेपछि विज्ञापन(नियमन) गर्ने ऐन ल्याउन पनि उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।
संसदीय समितिमा विज्ञको रूपमा पटक–पटक उपस्थित भई उहाँले ऐनको पक्षमा पैरवी गर्नुभएको थियो । साथै नियमावलीको निर्माणमा समेत संलग्न हुमागाईं यस क्षेत्रको एक विज्ञ र परिचित नाम समेत हो ।
आमसञ्चार क्षेत्रमै विशिष्ट श्रेणीमा स्नात्तकोत्तर, एमफिलका साथै व्यवस्थापनतर्फ जनप्रशासनमा प्रथम श्रेणीमा स्नातकोत्तर तह उत्तीर्ण गर्नु भएका हुमागाईं सञ्चार क्षेत्रकै नियमक निकायको विषयमा विद्यावारिधिको तयारीमा हुनुहुन्छ ।
हुमागाईं नेपाल प्रेस इन्ष्टिच्यूटको महासचिव, मिडिया एलाइन्सको महासचिव समेत रहिसक्नुभएको छ ।
यो पनि पढ्नुहोस्–
ईमेज च्यानलका सिइओ लक्ष्मण हुमागाईं विज्ञापन बोर्डको अध्यक्षमा नियुक्त
प्रतिक्रिया दिनुहोस्