
एलबी विश्वकर्मा/नारायणी लामिछाने
काठमाडौं । शल्यक्रिया मार्फत प्रसूति गराएकी सोलुखुम्बुकी २९ वर्षीया डोमा घताने दश महिनादेखि थला परेकी छन् । प्रसूतिको क्रममा सोलुखुम्बुकै फाप्लु अस्पतालका चिकित्सकको लापरबाहीका कारण डोमा थला परेकी हुन् ।
नाबालक छोरालाई काखमा च्याप्ने, दुध चुसाउने रहर डोमाको रहर अझै पूरा भएको छैन । बरु महिनै पिच्छे शरीर चिरफार मात्र भइरहेको छ । हालसम्म ७ वटा अप्रेसन भइसक्यो । तर, स्वास्थ्यमा सुधार हुन सकेको छैन । पटक–पटक अप्रेसन गर्दा अन्तमा आन्द्रा नै चुँडिएपछि अवस्था झन् धरासायी बनेको छ ।
बच्चा जन्माउने बित्तिकै बेहोस भएकी डोमाको दुईदिनपछि होस खुल्नेबित्तिकै डिस्चार्ज गरियो । त्यसबेला शरीरमा भएको सामान्य दुखाइलाई उनले गम्भीर रुपमा लिइनन् । विस्तारै ज्यान सुक्दै गयो । ६५ किलोग्राम वजन भएकी उनी ३५ किलोग्राम पुगेपछि उपचारको लागि ओखलढुङ्गाको मिसन अस्पताल पुगिन् ।
डाक्टरले पिप भरिएको छ भन्दै २ पटक शल्यक्रिया गरे । स्वास्थ्यमा सुधार आउने छाँटकाट देखिएन । यसपछि उनलाई टिचिङ अस्पताल महाराजगन्ज रिफर गरियो । तर, लकडाउनका कारण नजिकै रहेको बौद्ध स्थित स्तुपा अस्पताल मात्र जान सकिन् । पेटमा कपडा भएको पत्ता लाग्यो । डाक्टरले आन्द्रामा कपडा बेरिएको जानकारी दिएको बिरामीका श्रीमान् सुनिल विश्वकर्मा बताउनुहुन्छ ।
घटना लगत्तै उपचारमा संलग्न फाप्लु अस्पतालका डाक्टर दिलिप कुमार साहले नेपालगन्ज सरुवा लिए । अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष वीरकुमार राई, निर्देशक शानी शेर्पा र डाक्टर मिङ्मा गुरुङले बिरामीलाई धम्की दिन थाले । दुधकुना नगरपालिकाका मेयरलाई समेत अस्पताल प्रशासनले धम्की दिएपछि उनले प्रहरीमा उजुरी गर्न सुझाव दिएको श्रीमान् विश्वकर्माको भनाइ छ ।
फाप्लु अस्पतालले यसअघि पनि पटक–पटक सुत्केरीलाई पिट्ने, बच्चाको टाउको तानेर मार्ने जस्ता आपराधिक क्रियाकलाप गर्र्दै आइरहेको स्थानीयको दाबी रहेको छ । सुत्केरी गराउने क्रममै लापरबाही गरिएकी डोमा दलित भएकै कारण उनीमाथि थप अन्यायका श्रृंखला जारी रहेको स्थानीय विजय घिमिरेको आरोप छ ।
डाक्टरको सामान्य त्रुटिका कारण डोमाको समस्या बढ्दै गएर अहिले ज्यान नै जोखिममा परेको छ भने उपचार गर्दा गर्दै सम्पति समेत सकिसकेको छ । थप उपचार कसरी गर्ने भन्ने पिरलो खेपिरहेकी डोमाले लारबाहीका कारण ब्यहोर्नु परेको क्षतिको क्षतिपूर्ति कसले दिने ?
प्रतिक्रिया दिनुहोस्