
एलबी विश्वकर्मा
काठमाडौं । भू–माफिया चुडामणि गौतमको समूहले किसान हिड्ने बाटो, सिंचाईको कुलो र खोलाको जग्गा गरी थप चार रोपनी सरकारी जमिन अतिक्रमण गरेको खुलासा भएको छ । दुई खोलाको दोभानमा जग्गा खरिद गरेर गौतमले दुईवटा खोला चार तिरबाट मिचेको पाइएको छ ।
चन्द्रागिरी नगरपालिकाले एकातर्फको खोलामा निर्माण गरिएको पर्खाल मात्र भत्काएको छ । अर्को तर्फको खोला, जग्गाको बीचमा रहेको बाटो र कुलो गरेर अझै ६–७ रोपनी जमिन भू–माफियाले कब्जा गरेको स्थानीयको भनाइ छ । मालपोत कर्मचारीको मिलोमतोमा बाटो र कुलोको जग्गाको लालपुर्जा समेत गौतमले आफ्नो नाममा बनाएको स्थानीय विष्णुभट्ट गोपालीको आरोप छ ।
खोलाको सिमानासँग जोडिएका अन्य स्थानीयको जग्गा समेत हात पार्ने दाउ गरेका गौतमले सुरुवातमा जग्गा बेच्न आग्रह गर्ने र नमाने धाकधम्की दिएर जग्गा कब्जा गर्ने गरेको स्थाीयको आरोप छ । गौतमले २०६० सालमा सो क्षेत्रमा जग्गा खरिद गरेको र त्यसपछि सरकारी जमिनमा आँखा लगाएको बुझिएको छ । भू–माफियाहरूले खोला किनारको जग्गा किन्ने र त्यसपछि अतिक्रमण गर्ने गरेको चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी बताउनुहुन्छ ।
त्यसो त चुडामणिले गरेको प्लटिङमा जाने बाटो छैन । अर्काको जग्गाको बाटो देखाएर घडेरी बेच्ने र पछि बाटो नभएको थाहा भएमा आफैँले सस्तोमा खरिद गरेर अरूलाई फसाउने गरेको अर्का स्थानीय उत्तम कार्कीको भनाइ छ ।
चन्द्रागिरीमा सार्वजनिक जग्गा मिच्ने गौतम एक्ला भने होइनन् । शर्मा एण्ड कम्पनी पनि खोला नै बेपत्ता बनाउने खेलमा लागेको छ । आयल निगमले पनि २० रोपनी जमिन कब्जा गरेर संरचना नै बनाइसकेको छ । तर, यी सबै अतिक्रमणको खोजी गरिदिने कसले ?
प्रतिक्रिया दिनुहोस्