१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्ता समीकरणको विषयमा देउवा र पौडेलबीच चर्काचर्की, २ बजे बाेलाइएकाे बैठक अझै सुरु भएन


0
Shares

रोमन आचार्य
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु हुनुअघि भएको छलफलमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ ।

पार्टी कार्यालय सानेपामा शीर्ष नेताहरूबीच भएको छलफलमा देउवा र पौडेलबीच नयाँ सत्ता समीकरणको विषयलाई लिएर चर्काचर्की भएको स्रोतले जनाएको छ ।

छलफलमा पौडेलले नयाँ सरकार बनाउन कांग्रेसले पहल कदमी गर्नुपर्ने र कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्नेमा जोड दिनुभएको थियो । पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर नयाँ सत्तासमीकरणमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

तर, सभापति देउवा भने अहिले नै ओलीको राजीनामा माग्ने पक्षमा देखिनुभएन । उहाँले अहिलेको अवस्थामा ओलीको राजीनामा माग्न नहुने बताउँदै अन्य दलको अवस्था हेरेर मात्र पार्टीले निर्णय गर्नुपर्ने धारणा राखेको स्रोतको भनाइ छ ।

यस्तै छलफलका क्रममा संस्थापन पक्षले राधेश्याम अधिकारीको नेतृत्वको निर्वाचन समितिले टुङ्गाएका जिल्लाहरूको समायोजन चित्तबुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

पार्टीका शीर्ष नेताहरूबीच भएको चर्काचर्कीले दिउँसो २ बजे बोलाइएको केन्द्रीय कमिटी बैठक अझैसम्म सुरु हुन सकेको छैन । यद्यपि पार्टीका नेताहरूबीच दुई विषयमा भने सहमति भएको छ ।

भदौको महाधिवेशन कार्यतालिका प्रभावित नहुने गरी क्रियाशील सदस्यता इन्ट्री गर्ने समय थप्ने र राप्रपाबाट कांग्रेसका प्रवेश गरेका ४८ जिल्लाका १० हजार ५ सय १८ जनालाई क्रियाशील सदस्यता दिने विषयमा भने सबैको एक मत रहेको छलफलमा सहभागी एक नेताले ईमेजखबर डटकमलाई जानकारी दिनुभयो ।

कांग्रेसले यसअघि चैत १० गतेभित्र क्रियाशील सदस्यको टुङ्गो लगाउने गरी कार्यतालिका बनाएको भए पनि अहिलेसम्म सदस्यता टुङ्गो नलाग्दा कार्यतालिका हेरफेर गर्नुपर्ने भएको हो ।