७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


उपत्यकाको फोहोर आजबाट उठ्ने, महानगर र सिसडोबासीबीच भयो ७ बुँदे सहमति


0
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर आजबाट उठ्ने भएको छ । काठमाडौं महानगरपालिका र सिसडोका स्थानीयबीच सहमति भएपछि फोहोर उठ्ने भएको हो ।

शुक्रबार महानगर र सिसडोल क्षेत्रका आन्दोलनरत स्थानीय बासिन्दा र जनप्रतिनिधिबीच सात बुँदे सहमतिपत्रमा हस्ताक्षर भएपछि फोहोर बिसर्जनमा गरिएको अवरोध हटेको हो । काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख हरि श्रेष्ठका अनुसार सिसडोलबासीले राखेको शिक्षा र स्वास्थ्य सम्बन्धी मागहरु महानगरपालिकाले पुरा गर्ने सहमति भएको छ ।

त्यसैगरी रोजगारी, विकास निर्माण लगायतका मागहरु सम्बन्धमा पनि महानगरपालिकाले बजेट उपलब्ध गराउने सहमति भएको श्रेष्ठले जानकारी दिनुभयो । ककनी गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरुका लागि ४६ जना र धुनिबेसी नगरपालिकाका लागि ५ जना तहगत र विषयगत दरबन्दीमा सम्बन्धित गाउँपालिका र नगरपालिकाले करार सेवामा शिक्षक नियुक्त गर्ने र शिक्षक नियुक्ति भएपछि सो बापतको पारिश्रमिक नेपाल सरकारले तोकेको स्केल बमोजिमको रकम काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने सहमति भएको छ ।

यस्तै फोहोरमैला अतिप्रभावित र प्रभावित क्षेत्रका वडाहरुलाई प्राथमिकताका आधारमा भौतिक पूर्वाधार विकास र अन्य विकासका लागि धुनीवेशी नगरपालिका र ककनी गाउँपालिकालाई आगामी आर्थिक वर्षबाट वार्षिक बजेट नीति तथा कार्यक्रममा महानगरले एकमुष्ठ तीन–तीन करोड रुपैयाँ विनियोजन गर्ने सहमति पनि भएको छ । विभिन्न माग राख्दै नुवाकोट ककनी गाउँपालिका सिसडोल क्षेत्रका स्थानीय बासिन्दाले चैत १३ गते देखि फोहोर बिसर्जनमा अवरोध गर्दै आएका थिए ।