
काठमाडौं । सरकारले देशभरका १ सय ६५ वटा निर्वाचन क्षेत्रमा सडक पूर्वाधार आयोजना बनाउने उद्देश्यसहित ‘निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम’ सुरु गरेको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको औपचारिक गर्नुभयो ।
प्राथमिकताका आधारमा छनोट भएका १ सय ६५ वटा निर्वाचन क्षेत्रका रणनीतिक सडक आयोजनाहरु तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी तीन वर्षभित्रमा थप २ हजार २ सय १० किलोमिटर सडक निर्माण सम्पन्न भइसक्ने जानकारी दिनुभयो । यी आयोजनाहरुको लागत ५७ अर्ब १० करोड रुपैयाँ बराबर अनुमान गरिएको छ ।
मन्त्री नेम्बाङले पूर्वाधार र सडक निर्माणका क्षेत्रमा नयाँ चरणको अभियानको थालनी भएको बताउँदै कम्तीमा दुई लेनको २ हजार २ सय १० किलोमिटर सडक कालोपत्रे गरिने बताउनुभयो । उहाँले अहिले सरकारले दैनिक ६ किलोमिटर बाटो निर्माण गरिरहेको भन्दै राष्ट्रिय सडक सञ्जालले अझै पनि सबै क्षेत्र समेट्न नसकेको उल्लेख गर्नुभयो । संघीयता कार्यान्वयन र राष्ट्रिय आकाक्षा पुरा गर्ने सन्दर्भमा यो योजना कोशेढुंगा हुने सरकारको दावी छ ।
प्रतिक्रिया दिनुहोस्