
भरत शर्मा
पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–५ र ६ का स्थानीयवासिन्दा वर्षौंदेखिको खानेपानीको अभावबाट मुक्त भएका छन् । खानेपानीको सुविधा भएपछि स्थानीयहरूले धाराबाट खेर गएको पानीलाई उपयोग गरी करेसाबारीको व्यवस्थापनसमेत गरेका छन् ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएको योजनाबाट गाउँका १ सय ५० घर परिवार प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । खानेपानीको अभावका कारण बगनासकालीका स्थानीयबासिन्दा वर्षेनी बसाइसराइ गर्दै आए पनि गाउँमा खानेपानी पुगेपछि भने बसाइ सराइसमेत रोकिने भएको छ ।
खानेपानीको हाहाकार भएपछि स्थानीय १ सय ५० घर परिवारले २५ दिनसम्म आफैँ श्रमदानसमेत गरेका थिए । खानेपानीको समस्या समाधानका लागि धेरै पटक स्थानीय सरकारको ध्यानाकर्षण गराएका यहाँका बासिन्दा लामो प्रयासपछि खानेपानी पुग्दा खुसी देखिएका खानेपानी उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर खाम्चा बताउनुहुन्छ ।
५ सय मिटर उचाइमा लिफ्टीङ्ग गरी वितरण गरिएको आयोजनाबाट यस क्षेत्रका ८ सय भन्दा बढी स्थानीय बासिन्दा लाभान्वित भएका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मार्फत १ करोड २ लाख रुपैयाँ र स्थानीबासिन्दाको २१ लाख रुपैयाँ गरी १ करोड २३ लाख रुपैयाँमा योजना सम्पन्न भएको खानेपानी आयोजनाका शोभाखर अधिकारी बताउनुहुन्छ ।
गाउँमा खानेपानी पुगेपछि यहाँका सुकौरे डाँडाहरूसमेत हरियालीमा परिणत भएका छन् । घर–घरमा धारा पुगेपछि घरनजिकै रहेका करेसाबारीमा लसुन, प्याज, केराउलगायतका तरकारीबालीसमेत लगाउन थालिएको छ । यसरी धाराबाट खेर गएको पानीलाई उपयोग गरी आयआर्जनको माध्यम बनाउन सकिएको खण्डमा यस्ता योजनाले सार्थकता पाउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्