
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताबाट बहुमत प्राप्त ओली नेतृत्वको सरकारले देशलाई राजनीतिक द्वन्द्वतर्फ धकेलेकाले नेपाली कांग्रेसले आफ्नो नेतृत्वको सरकार निर्माणमा अग्रसरता लिनु परेको प्रस्ट पार्नुभएको छ ।
दावाँली मिलन क्लबको १५ औं साधारण सभामा सम्बोधन गर्दै नेता सिंहले वर्तमान सरकार असफल भएकाले देशलाई समस्याबाट निकास दिलाउन नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभयो ।
‘पाँच वर्षको लागि प्राप्त गरेको म्यान्डेड कम्युनिष्टहरूले ३ वर्ष पनि टिक्न सकेन । यो सरकार असफल भइसक्यो,’ उहाँले भन्नुभयो, ‘देशलाई अहिलेको समस्याबाट निकास दिलाउन नेपाली कांग्रेस आवश्यकता अनुसार आफ्नो नेतृत्वको सरकार दिन तयार छ ।’
नेता सिंहले नेपालको संविधान निर्माण गर्न पनि चार जना कम्युनिष्ट नेताहरू असफल भएको अवस्थामा कांग्रेसको नेतृत्वको सरकारले नै संविधान निर्माण गरेको स्मरण गर्नुभयो । उहाँले अहिलेको अवस्था पनि उस्तै रहेको बताउँदै राजनीतिक समस्याबाट निकास दिन कांग्रेस नै सफल हुने दावी गर्नुभयो ।
नेता सिंहले कम्युनिष्टहरूमा सेवाको भावना नभएको जिकिर गर्दै नेतृत्व इमानदार हुनुपर्नेमा जोड दिनुभयो । सरकार संघीयता भन्दा केन्द्रीकृत शासन व्यवस्था सञ्चालन गर्न लागेको उहाँको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्