
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको निर्णयपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको बताउनुभएको छ ।
कपिलवस्तु जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीको तत्काल राजीनामा माग्ने र नयाँ सरकार गठनको पहल लिने निर्णय कांग्रेसले गरेसँगै देशको परिस्थितिले कोल्टे फेरेको बताउनुभयो ।
कांग्रेसको निर्णयसँगै नयाँ सरकार गठनका बैठकहरू घनिभूत रूपले अघि बढ्ने बताउनुभएको छ । नयाँ परिस्थितिको लागि आफू छिटो काठमाडौं फर्कनुपर्ने अवस्था रहेको बताउँदै उहाँले नयाँ सरकार बन्न लागेको सबै कार्यकर्तालाई सार्वजनिक रूपमै बधाई दिनुभएको छ ।
अध्यक्ष दाहालले संविधान पूर्ण नभएकाे बताउनुभयाे । संविधानमा मधेशी, दलित, महिला, जनजाती र पिछडिएका वर्गको अधिकारको विषय उल्लेख्य रूपमा नसमेटिएको उहाँको तर्क छ ।
कार्यक्रममा उहाँले जनता समाजवादी पार्टीलाई प्रतिगमनविरोधीहरू एक हुन आह्वान गर्नुभएको छ । पहिला पनि केपी ओलीले आश्वासन मात्र दिइराखेकाले अहिले पनि आश्वासन मात्र दिने बताउँदै उहाँले आफूहरूसँग एक भएर अघि बढ्न आग्रह गर्नुभएको छ ।
अध्यक्ष दाहालले कार्यक्रममा हिन्दी भाषामा सम्बोधन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्