१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुलुकमा समृद्धि र विकास नहुनुको पछाडि ऐन बाधक– मुख्यमन्त्री राउत


0
Shares

वीरगञ्ज । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा समृद्धि र विकास नहुनुको पछाडि ऐन कानुन बाधक रहेको बताउनुभएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई शनिबार सम्बोधन गर्दै राउतले मुलुकको समृद्धिमा ऐन कानुन बाधक बनेको टिप्पणी गर्नुभयो । कानुनले बन्दैन भनेका कुरा पैसा दिएपछि मिल्ने मुख्यमन्त्री राउतको भनाइ थियो ।

राउतले संघीय सरकारले अधिकार कुण्ठित गर्न खोज्दा पनि अन्य प्रदेश सरकार चुप लागेको भन्दै असन्तुष्टि जनाउनुभयो । लगानीमैत्री कानुन नभएसम्म मुलुकको विकास नहुने बताउँदै उहाँले उद्योगी व्यवसायीलाई सरकारले सधैं लुटेरा र डाँकाको रुपमा हेर्ने गरेको आरोप लगाउनुभयो ।
मुख्यमन्त्री राउतले उद्योगी व्यवसायीलाई अप्ठेरोमा पारेर मुलुकको समृद्धि कल्पना गर्न नसकिने बताउनुभयो । प्रदेश सरकारले औद्योगिक ऐन ल्याइसकेको भन्दै उहाँले छिट्टै उद्योग विभाग गठन गरेर उद्योगको दर्ता र नवीकरण प्रदेशबाटै गर्ने व्यवस्था मिलाउने जनाउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले भिजन–२०३० लाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो । यसैबीच वीरगञ्ज उद्योग वाणिज्य संघको ४५ औं साधारणसभाबाट दुई वर्षे कार्यकालका लागि सुवोध गुप्ताको नेतृत्वमा नवनिर्वाचित पदाधिकारीहरूलाई शपथग्रहण गराइएको छ ।