१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपति र झलनाथ खनालबीच भेटवार्ता, मिलेर जान सुझाव


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता भलनाथ खनालसँग भेटवार्ता गर्नुभएको छ ।

शनिबार दिउँसो डल्लु स्थित खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत कुराकानी भएको पूर्वप्रधानमन्त्री खनालले बताउनुभयो ।

खासगरी राष्ट्रपति भण्डारी खनालको छिमेकमा रहनुभएका इतिहास संशोधन मण्डलका अध्याता एवं प्रबर्द्धकहरू दिनेश पन्त र महेश पन्तको घरमा पुग्नु भएको र सोही क्रममा आफ्नो घरमा समेत भेटन आउनु भएको खनालले बताउनुभयो । भेटमा राष्ट्रपति भण्डारीले पार्टीमा देखिएको विवाद समाधान भएर जाओस भन्ने चाहना राखेको पूर्वप्रधानमन्त्री खनालले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामीले एकछिन भलाकुसारी गर्‍यौं । विगतका कुराहरु पनि हामीले गर्‍यौं । अहिलेको वर्तमान स्थितिको बारेमा पनि अलिकति कुराकानी गर्‍यौं । उहाँले पार्टी आन्दोलन एकतावद्ध भएर जाओस, लोकतन्त्र राम्रो भएर जाओस, सुदृढ भएर जाओस, मेरो राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुराहरु व्यक्त गर्नुभयो ।’

भेटमा आफ्नो स्वास्थ्य प्रति पनि राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गर्नुभएको खनालले बताउनुभयो । तर, आफूले आफ्नो स्वास्थ्य भन्दा पनि पार्टी र कम्युनिष्ट आन्दोलनको बारेमा चिन्ता लागेको कुरा राखेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो ‘हाम्रो आफ्नो व्यक्तिगत स्वास्थ्यको बारेमा मलाई चिन्ता होइन चिन्ता चाहिं पार्टीको बारेमा लागेको छ, कम्युनिष्ट आन्दोलनको स्वास्थ्यको बारेमा चिन्ता छ । अब यस्तो अहिले पार्टीमा कतिपय समस्याहरू उत्पन्न भइरहेको बेलामा यहाँ आउनुभएको छ ।’

लोकतन्त्र बलियो बनाउनलाई पार्टीहरू नै बलियो हुनुपर्ने धारणा राष्ट्रपतिले राखेको खनालले बताउनुभयो । राष्ट्रपतिको भनाइ उद्धृत गर्दै खनालले भन्नुभयो, ‘पार्टीहरू बलिया हुन्, एकीकृत पार्टी पनि सकेसम्म नफुटोस् र नेकपा एमाले पनि बलियो होस् भन्ने नै मेरो चाहना हो, तपाईंहरू अहिले पनि सकेसम्म मिलेर जानुहोस् भन्ने मेरो सुझाव हो ।’