२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कोरोनाले थलिएको नवलपुरको पर्यटन क्षेत्रमा बढ्यो चहलपहल


0
Shares

विवेक भण्डारी

नवलपुर । कोरोना भाइरसको असरले थलिएको नवलपुरको पर्यटन क्षेत्रमा चहलपहल बढेको छ । बाह्य पर्यटकको चाप नभए पनि आन्तरिक पर्यटकका कारण यहाँका पर्यटन क्षेत्र पहिलेकै अवस्थामा पुगेका छन् ।

पर्यटन व्यवसाय बिस्तारै उकालो चढ्न थालेपछि पर्यटन व्यवसायी पनि उत्साहित देखिएका छन् । अहिले यहाँका होमस्टे र होटल व्यवसायीहरुले पहिले झै पाहुनालाई स्वागत र सत्कार गर्न व्यस्त भइसकेका छन् ।

काठमाण्डौ, धरान, पोखरा, बुटवललगायतका स्थानबाट आन्तरिक पर्यटकहरु आउँदा होमस्टे पहिलेकै अवस्थामा आएको कावासोती अमलटारी होमस्टेका व्यवस्थापक धनिराम महतोले बताउनुभयो।

पर्यटकको संख्या बढ्दै गएको र अब अरु होमस्टेहरु पनि थप गर्ने योजना रहेको महतोको भनाइ छ । कावासोती– १५ बाघखोरका जितबहादुर महतोले आन्तरिक पर्यटक आउन थालेको भन्दै ठुलो लगानीमा होटल नै सञ्चालनमा ल्याएका छन् । पर्यटकको चहलपहलले आम्दानी राम्रो भएको महतो बताउनुहुन्छ ।

यता लामो समयदेखि घुमफिर गर्न नपाएका पर्यटकहरु नवलपुरको पर्यटन क्षेत्रमा घुमफिर गर्न पाउँदा उत्साहित देखिन्छन् । नवलपुरमा आउने पर्यटकहरुले गैँडा, हात्ती, गोही र विभिन्न प्रजातिका चराहरुको सजिलै अवलोन गर्न सक्ने हुँदा पर्यटकहरुको आकर्षण बढेदै गएको हो ।