१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि इमेजकर्मी भण्डारीको उम्मेदारी


0
Shares

इलाम । चैत २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रदेश नम्वर १ मा सदस्य पदका लागि उम्मेद्वारी दिएसंगै इमेजकर्मी तथा झापाली पत्रकार सुरेन्द्र भण्डारीको चर्चा चुलिएको छ ।

डेढ दशकदेखि पत्रकारिता गर्दै आएका भण्डारी झापाका स्थायी वासिन्दा हुनुहुन्छ । उहाँ अहिले मोफसलबाट प्रकाशित हुने पूर्वाञ्चल राष्ट्रिय दैनिकमा सह सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ भने राष्ट्रिय स्तरका सञ्चार माध्यम राष्ट्रिय समाचार समिति (रासस) र इमेज टेलिभिजनमा समेत कार्यरत छन् ।

नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारहरुले ऐकबद्धता जनाएसंगै श्रमजिवि व्यावसायिक पत्रकारहरुको हकहितका लागि भन्दै पत्रकार भण्डारीले प्रदेश १ को सदस्य पदका लागि उम्मेदवारी दिनु भएको छ। उहाँको उम्मेद्वारी परेसंगै झापा सहित प्रदेश १ मा उहाँको चर्चा चुलिएको हो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र र नागरिकको अधिकार प्राप्तिका लागि आवाज वुलन्द गर्ने, सबै सञ्चार माध्यमको संघ , प्रदेश र स्थानीय तहमा वर्गीकरण,तीन तहकै श्रमजीवी ऐन, तीन तहकै सञ्चार सुविधा, प्रदेश स्तरको प्रेस रजिष्ट्रारको कार्यालय स्थापना गराउने भूमिका निर्वाह गर्ने र सञ्चार माध्यमका पक्षम नीति तथा कानून वनाउने पक्षमा दवाद सृजना गर्न आफूले प्रदेश सदस्यमा उम्मेद्वारी दिएको पत्रकार भण्डारीले बताउँदै आउनु भएको छ।

को हुनुहुन्छ पत्रकार भण्डारी


पत्रकारिताको माध्यमबाट लोकतन्त्र स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गर्ने एउटा शसक्त नाम हो सुरेन्द्र भण्डारी । झापाको बाह्रदशी गाउँपालिका – ३ स्थायी घर भएका पत्रकार भण्डारी झापाको बिर्तामोडमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएको छ । मोफसलदेखि राष्ट्रिय स्तरका विभिन्न सञ्चार माध्यममा काम गर्दै आउनु भएका भण्डारीले राष्ट्रियदेखि स्थानीय स्तरमा गरिदै आएको पत्रकारितालाई नजिकबाट नियालि रहनु भएका छ ।

झापाबाट प्रकाशित पूर्वाञ्चल राष्ट्रिय दैनिकमा सह सम्पादकको भूमिकामा कार्यरत उहाँले डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा समेत काम गरिरहनु भएको छ । २०७१ सालबाट राष्ट्रिय समाचार समितिमा प्रवेश गर्नु भएका उहाँ अहिले पनि रासस सहित इमेज टेलिभिजन, पूर्वेली अनलाईका लागि झापाबाट जिल्ला व्यूरोका रुपमा काम गरिरहनु भएको छ ।

मोफसलबाट पत्रकारिता शुरु गर्नु भएका भण्डारी आज पर्यन्त पूर्वाञ्च दैनिकमा आवद्ध हुनुहुन्छ । छापा र विद्युतीय माध्यमका लागि खोज मूलक समाचार लेखनमा रुची राख्ने भण्डारीले यस अघि कञ्चनजंघा एफएम, रेडियो सनराईज, रेडियो सरगम जस्ता सञ्चारमाध्यममा रहेर काम गरिसक्नु भएको छ । पछिल्लो समय रासस सहित पत्रिका र टेलिभिजनमा सक्रिय पत्रकारिता गर्दै आउनु भएका भण्डारी श्रमजीवी पत्रकारको पक्षमा वकालत समेत गर्दै आउनु भएको छ ।

मिडिया कर्मचारी युनियन (युनिमी) झापाका अध्यक्ष समेत रहनु भएका भण्डारी यस अघि नेपाल पत्रकार महासंघ झापाको कार्यसमितिमा रहेर काम गरिसक्नु भएका छ, भने महासंघको अहिले पनि केन्द्रीय पार्षद हुनुहुन्छ । नेपाल प्रेस युनियन झापाको सह सहसचिवको भूमिका निर्वाह गरिसक्नु भएका पत्रकार भण्डारी श्रमजीवी पत्रकारको हक हितका लागि श्रमजीवी नेतृत्वले नै बलियो आवाज उठाउन सक्नेमा विश्वस्त हुनुहुन्छ ।

२०६२ / ०६३ सालमा भएको जनआन्दोलनका क्रममा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका उहाँले तत्कालीन राजा ज्ञानेन्द्रले गरेको मिडिया बिरोधी गतिविधि बिरुद्ध समेत उत्तिकै सक्रिय भएर पत्रकारितामा आफ्नो भूमिका निर्वाह गर्नु भएको थियो । समाज रुपान्तरणका लागि पत्रकारिता बलियो आधार हो भन्ने मान्यता राख्ने भण्डारी खोज मूलक पत्रकारितामा बढी रुची राख्नुहुन्छ । विकृति विसंगति विरुद्ध निडर भएर कलम चलाउने उनले पत्रकारिताको डेढ दशक लामो यात्रामा सयौं सामाजिक कार्यमा समेत सहभागी बनेर सबैको मन जिन्तु भएको छ ।
२०४२ साल मंसीर २१ गते पिता पदम प्रसाद भण्डारी र माता स्व. तारादेवी भण्डारीको पुत्ररत्नका रुपमा जन्मिएका उनले विद्यार्थी अबस्थाबाटै पत्रकारितामा रुची राख्दै यो पेशा अंगाल्नु भएको हो ।

नेपाल मिडिया सर्पोट परियोजना मार्फत २०७० सालमा खोज पत्रकारितामा लेखनवृत्ति पुरस्कार प्राप्त गरेका भण्डारीले शिक्षा क्षेत्रमा कलम चलाएकै कारण नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालयले स्थापना गरेको शिक्षा पत्रकारिता पुरस्कार पनि २०७० सालमा नै प्राप्त गरेका थिए । यो संगै जिल्लामा विभिन्न सरकारी,गैर सरकारी कार्यालय सहित दुई दर्जन भन्दा बढी सामाजिक संघ संस्थाबाट समेत सम्मानित र पुरस्कृत हुनु भएको छ, भण्डारी ।

पूर्वाञ्चल राष्ट्रिय दैनिक सहित इमेज टेलिभिजनबाट समेत उत्कृष्ठ पत्रकारको रुपमा सम्मानित भइसकेका भण्डारी २०७० सालमा नै रेडियो सनराइजबाट उत्कृष्ट पत्रकारिता पुरस्कार प्राप्त गर्न सफल हुनु भएको थियो । त्यस्तै सोही रेडियोमा स्थापित स्वर्गीय रवीन शिवाकोटी स्मृति सञ्चार पत्रकारिता पुरस्कार २०७१ प्राप्त गरेका भण्डारीले तत्कालीन जिल्ला शिक्षा कार्यालय झापा,इलाका प्रहरी कार्यालय अनारमनीबाट समेत सम्मानित हुनु भएको छ। झापा सहित पूर्वमै पत्रकारिताको श्रीवृद्धिमा लागि पर्ने भण्डारी निष्ठाको पत्रकारिता गर्नुहुन्छ । सरल र मिजासिलो स्वभावका उनी झापा सहित पूर्वमै सवैका प्रिय पात्र हुनुहुन्छ ।