
काठमाडौं । बाराको परवानीपुर गाउँपालिका -१ अन्तर्गतको बुनियाद- नितनपुर सडक किनारका टहरामा बस्ने ६ विपन्न परिवार अहिले राज्यको त्रासमा बाँचिरहेका छन् । राजस्व छली गर्ने गिरोहले उनीहरूका कागजपत्र दुरुपयोग गर्दै कम्पनी खडा गरेर करोडौँ कर छली गरेको छ । तर, राज्यको नजरमा दैनिक मजदुरी गरेर पेट पालिरहेका निमुखा दोषी बनेका छन् ।
सडक किनारको टहरोमा बस्ने उमाशंकर राय भर अपांगता भएका व्यक्ति हुन् । एउटा आँखा देख्दैनन् । ठगी गर्ने गिरोहले उनका नाममा ब्लु क्रस ट्रेडर्स र जेन सप्लायर्स नामका दुई कम्पनी दर्ता गरेर कर छली गरेको छ । दुवै कम्पनीको गरेर २७ करोड ९० लाख ५१ हजार पाँच सय ५२ रुपैयाँ कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
अदालतको पत्र आएपछि स्थानीय वकिलको सल्लाहअनुसार काका रूपनारायण राय भरसँगै उमाशंकर कुरा बुझ्न काठमाडौंस्थित राजस्व कार्यालय गएका थिए । तर, उनलाई त्यहीँबाट पक्राउ गरेर नख्खु कारागार चलान गरियो । अहिले पनि उनी कारागारमै छन् । ‘हामी गरिबलाई फसाइयो, भतिजालाई लिएर बुझ्न गएको थिएँ, उसलाई उतैबाट समातेर जेल हाल्यो,’ रूपनारायणले भने, ‘गरिबको कोही भएन ।’
प्रतिक्रिया दिनुहोस्