
काठमाडौं । संसद् पुनर्स्थापनाको झन्डै डेढ महिनापछि आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरे पनि प्रमुख प्रतिपक्ष दल कांग्रेस अझै अलमलमा देखिएको छ । पार्टीभित्र दबाब भएपछि शुक्रबार केन्द्रीय कार्यसमितिबाट प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय लिए पनि कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार रातिसम्म नयाँ सत्तासमीकरणका लागि औपचारिक अग्रसरता लिएका छैनन् ।
कांग्रेसका केही नेताले दौडधुप थाले पनि माओवादी केन्द्र र जसपासँग देउवाले औपचारिक संवाद गरेका छैनन् । आइतबार साँझका लागि तय भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटसमेत देउवाले टारेका छन् । परिस्थिति परिपक्व नभएको भन्दै सुरुमा नमानेका देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालगायत नेताहरूको दबाबपछि आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गराएका थिए ।
कांग्रेसले पर्याप्त पहल लिन नसक्दा गठबन्धन निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । देउवाले पार्टीभित्रको दबाबका कारण निर्णय गरे पनि मानसिक रूपमा तयार नभएको आरोप पौडेल पक्षको छ । देउवाले आफू निकटस्थलाई अवस्था परिपक्व नभएसम्म कुनै कदम नचाल्ने भनेका छन् । यद्यपि, वरिष्ठ नेता पौडेललाई माओवादी केन्द्र र जसपासँगको संवादका लागि खटाएका छन् । पौडेलले सोहीअनुसार आइतबार जसपा अध्यक्ष महन्थ ठाकुरलाई भेटेका छन् । अध्यक्ष ठाकुरको निवास हात्तीगौँडा पुगेका पौडेलले करिब आधा घन्टासम्म छलफल गरेका थिए । पौडेलले ओलीको बहिर्गमनका लागि एउटा खाका बनाएर अगाडि बढ्न प्रस्ताव गरे पनि ठाकुरले कुनै स्पष्ट जवाफ दिएका छैनन् । पौडेल र प्रकाशमान सिंहले आइतबार प्रचण्डसँग भेट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्