
राजु चौधरी (इमेज)
अपडेट:
चितवन, साउन ९ । चितवनको भरतपुर बसपार्कचोकमा बुधबार प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।
भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारी–साधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि तनाव उत्पन्न भएको हो ।
गोली लागेर घाइते हुनेमा नवलपुर, गैंडाकोट–४ का ३० वर्षीय रिक्साचालक महेन्द्र सुनार रहेका छन् । उनको भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको छ ।
भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारीलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि तीनपांग्रे सवारी व्यवसायी प्रदर्शनमा उत्रिँदा झडप भएको हो ।
सोहीक्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली, दर्जनौं सेल अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो ।
प्रदर्शनकारीले हानेको ढुंगा लागेर पाँच प्रहरीजवानसमेत घाइते भएका छन् ।
घाइते हुने प्रहरीजवानहरुमा हर्कबहादुर दराई, नेत्र बुढाथोकी, केशव पाण्डे, सुरज विक र गोपाल पाठक रहेका छन् । उनीहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, अरु केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
प्रदर्शनमा उत्रिएका तीनपांग्रे सवारी व्यवसायीले एउटा मोटरसाइकलमा आगजनी गर्नुका साथै एउटा म्याजिक भ्यानसमेत तोडफोड गरेका छन् । प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान भएको थियो ।
प्रदर्शनकारीले प्रहरीचौकीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले ‘फायरिङ’ गरेको चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले बताए ।
तीनपांग्रे सवारी–साधनका विभिन्न समिति, उपसमिति, ट्रेड युनियनहरुले बुधबार भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
यद्यपि, अहिले स्थिति नियन्त्रणमा आइसकेको जनाइएको छ ।
भरतपुर महानगरपालिकाले साउन ५ गतेदेखि तीनपांग्रे सवारी–साधनलाई मुख्य राजमार्ग र सहरी क्षेत्रमा सन्चालन गर्न रोक लगाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्