
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा २३ वर्षपछि नयाँ सफ्टवेयरबाट काम सुरु भएको छ । नयाँ सफ्टवेयर भित्र्याए पनि विद्यार्थीको सेवासँग प्रत्यक्ष सरोकार राख्ने दक्ष जनशक्ति नहुँदा प्रभावकारी रूपमा काम हुन सकेको छैन । तर, नयाँ सफ्टवेयर चलाउने दक्ष जनशक्ति नहुँदा ट्रान्सक्रिप्टलगायतका सामग्री पाउन हप्तौँ लाग्ने गरेको छ ।
जनशक्तिको अभावले सबै कार्यक्रममा नयाँ सफ्टवेयर प्रयोग गरेर परीक्षाका काम गर्न नसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयाे । विद्यार्थीलाई छिटो र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न चाहे पनि दक्ष जनशक्ति अभावले सबै कार्यक्रमका परीक्षामा नयाँ सफ्टवेयरबाट काम गर्न नसकेको उहाँकाे भनाइ छ ।
२३ वर्ष पुरानो सफ्टवेयर ढिला प्रोसेसिङ हुने, डाटा मेमोरी कम भएको लगायतका कारण प्रभावकारी नभएपछि नयाँ सफ्टवेयर भित्र्याइएको थियो । ०५४ सम्म त्रिविका विद्यार्थीले हस्तलिखित ट्रान्सक्रिप्ट पाउने गर्दथे । ०५४ देखि सफ्टवेयरमा डाटा इन्ट्री गरी विद्यार्थीको ट्रान्सक्रिप्ट प्रिन्ट गरेर प्रदान गर्न सुरु गरेको थियो । नयाँ सफ्टवेयर भित्र्याएर काम सुरु गरे पनि जनशक्ति अभावले विद्यार्थीले समयमै पाउन सकेका छैनन् । अहिले कतिपय विद्यार्थीको ट्रान्सक्रिप्ट पाउन एक महिनासम्म पर्खिन परेको गुनासो आउन थालेको छ ।
कम्तीमा ६ जना कम्प्युटरविज्ञ भएमा नयाँ सफ्टवेयरबाट परीक्षाका काम गर्न सकिने नियन्त्रक जोशीले बताउनुभयाे । ‘नयाँ सफ्टवेयर पूर्णरूपमा लागू गर्न तयारी अवस्थामा छौँ,’ उनले भने, ‘त्रिवि सेवा आयोगबाट छनोट भएर कम्प्युटरका दक्ष जनशक्ति आउने आशामा थियौँ, मुद्दा मामिलाले ढिलाइ भइरहेको छ ।’ सामान्यतया नयाँ सफ्टवेयर कार्यान्वयन हुँदा दुई दिनमा ट्रान्सक्रिप्ट वितरण गर्न सकिने उहाँले बताउनुभयाे । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्