
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठकमा सूचना प्रविधि सम्बन्धी विद्येयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।
सामाजिक सञ्जालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचनाप्रविधिसम्बन्धी विद्येयक बैठकमा पेश हुन लागेको हो ।
विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले विद्येयक पेश गर्नुहुनेछ । समितिले कांग्रेसबाहेकका सांसदको बहुमतबाट पारित गरेको प्रतिवेदन आज सदनमा पेश गर्न लागेको हो ।
विधेयकमा मौलिक हकअन्तर्गत रहेको अभिव्यक्ति स्वतन्त्रतालाई समेत अंकुश लगाउने खालका प्रावधान रहेको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।
संसदमा पेश भएको विद्येयक अड्किएपछि सरकारले विद्येयकमा भएकै प्रावधान राखेर छुट्टै निर्देशिका ल्याउने प्रयाससमेत गरेको थियो । त्यसको चौतर्फी विरोध भएपछि सरकार पछि हटेको थियो ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोग र थारु आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पुर्वसांसद ऐश्वर्यलाल प्रधानाङगको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्