
दीपक श्रेष्ठ
काठमाडौं । काठमाडौं उपत्यकाको सडकमा सवारी जाम हुनु कुनै नौलो कुरा होइन । उपत्यकामा विभिन्न करिडोर निर्माण भएपछि सडकको जाम कम हुने आशा गरिए पनि अवस्था सोचेजस्तो हुन सकेन ।
फराकिला, चिल्लो बाटोहरू बने पनि जथाभावी गरिने पार्किङले करिडोर पनि अस्तव्यस्त भएका छन् । जसले गर्दा मुख्य सडकमा हुने चाप जस्ताको तस्तै छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका मुख्य करिडोर व्यवस्थापन गर्न १७ वटा मोटरसाइकलमा ३४ जना ट्राफिक प्रहरी कर्मचारी परिचालन गरेको छ ।
तर, करिडोरको दायाँ–बायाँ सवारी साधन पार्किङ्ग गरिँदा जाम हुने स्थितिमा पुगेको छ । करिडोर नै अव्यवस्थित हुन थालेपछि मुख्य सडकमा सवारीको चाप घट्न सकेको छैन । आफूहरूले भर्खरै मात्र करिडोर व्यवस्थापनमा जनशक्ति खटाएकाले व्यवस्थित हुन केही समय लाग्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्त प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीले करिडोरमा जथाभावी पार्किङ गर्ने सवारी चालकहरूलाई कारबाहीको दायरामा ल्याएको दावी गरे पनि बाटोको दायाँ–बायाँ जतासुकै गाडी राख्ने प्रवृत्ति हटेको छैन । करिडोर खुल्ला गरेर सवारी साधनको आवागमन सहज बनाउन सके मुख्य सडकमा हुने जाम कम हुने कुरामा दुइमत छैन ।
सवारी साधन आवागमन सहज होस् भनेर व्यक्तिको जग्गा अधिग्रहण गर्दै विस्तार गरिएको सडकमा दायाँ–बाँया पार्किङ स्थल बनाएर स्थानीय सरकारले कमाइको बाटो बनाउनु पक्कै पनि न्यायसङ्गत हुन सक्दैन ।
प्रतिक्रिया दिनुहोस्