१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गम्भीर र अप्ठ्यारो संकटको सामना गर्न उत्तर कोरियाली जनतालाई किमको आग्रह


0
Shares

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ्ग–उनले आफ्ना नागरिकलाई गम्भीर र अप्ठ्यारो संकट सामनाका लागि तयार रहन आग्रह गर्नुभएको छ ।

पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले आगामी दिनको गम्भीरतालाई सन् १९९० को दशकमा उत्तर कोरियाले भोगेको निकै खराब भोकमरीसँग तुलना गर्नुभयो । मानव अधिकारवादी संस्थाले उत्तर कोरियामा गम्भीर खाद्य संकट तथा आर्थिक अस्थिरता आउन सक्ने चेतावनी दिएका बेला किमको यस्तो आग्रह आएको छ ।

उत्तर कोरियाले कोरोना भाइरसको महामारीपछि आफ्ना सीमा बन्द गरेको छ । जसका कारण चीनसँगको व्यापार तथा आयात–निर्यात ठप्प प्रायः छ । चीनसँगको आर्थिक गतिविधि उत्तर कोरियाका लागि लाइफ लाइन मानिन्छ । परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय रूपमा आर्थिक प्रतिबन्ध जारी रहेकाले पनि पनि अवस्था झन संकटपूर्ण बनेको हो ।

उत्तर कोरियाका नेताले आफ्नो देशमा गम्भीर संकट रहेको वा आउन लागेको भनेर स्वीकार गर्नु निकै दुर्लभ मानिन्छ । नेता किमले पार्टी कार्यकर्ताहरूलाई अर्को निकै संकटपूर्ण ‘अर्डूअस मार्च’ बाट जोगिनका लागि तयार रहन आग्रह गर्नुभएको छ ।

अर्डुस मार्च उत्तर कोरियाका अधिकारीहरूले १९९० को दशकमा विनाशकारी अनिकालको बेलामा भएको देशको संघर्षलाई संकेत गर्न प्रयोग गरेको शब्द हो । जब सोभियत संघको पतनले उत्तर कोरियालाई महत्वपूर्ण सहायता बिना छोडेको थियो । यस अवधिमा भोकमरीका कारण झण्डै ३० लाख व्यक्तिको ज्यान गएको बताइन्छ ।

कठिनाइका रिपोर्टहरू विशेष गरी चिनियाँ सिमाना नजिकका शहरहरूबाट आएको देखिन्छ । जहाँ तस्करी धेरैको लागि ठूलो कमाइको माध्यम थियो । ग्रामीण उत्तर कोरियालीका लागि मुख्य आहारको रूपमा रहेको मकैको मूल्यमा भारी वृद्धि भएको छ । केही ठाउँमा एक किलोग्राम मकै किन्न एक महिनाको ज्याला खर्च गर्नुपर्ने अवस्था रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।