
काठमाडौं । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने आरोहीबाट २४ करोड ७७ लाख रुपैयाँ राजश्व संकलन भएको छ । विश्वको सर्वोच्च शिखर आरोहणमा विदेशी आरोहीहरूबाट सलामी रकमबापत सो रकम संकलन भएको पर्यटन विभागले जनाएको छ ।
विभागको बिहिबारसम्मको तथ्याङकअनुसार नौ वटा हिमालबाट मात्रै २७ करोड ५२ लाख रुपैयाँ राजश्व संकलन भएको छ । यसमा सबै भन्दा धेरै सगरमाथाबाट राजश्व संकलन भएको छ भने त्यसपछि अन्नपुर्ण हिमालबाट ९१ लाख ६७ हजार र ल्होत्से हिमालबाट ८१ लाख ८६ हजार रहेको छ ।
सगरमाथा आरोहण गर्न एकजना विदेशी आरोहीले ११ हजार अमेरिकी डलर बुझाउनु पर्ने व्यवस्था छ । दुई वर्ष अघिको तुलनामा यस वर्ष आरोहीको संख्या वृद्धि भएको तथ्याङ्कले देखाएको छ । सरकारले पहिचान गरी आरोहणका लागि खुल्ला गरेको ४ सय १४ वटा हिमालमध्ये ४ सय ३ वटा हिमालबाट राजश्व संकलन गर्ने गरेको छ ।
यसवाहेक ११ वटा हिमाल भने पाँच हजार सात सय मिटरभन्दा होचो भएका कारण आरोहण निःशुल्क हुने गरेको छ । सरकारले पाँच हजार सात सय मिटर भन्दा होचा हिमाललाई पदयात्रा हिमालको रूपमा नामाकरण गरी आरोहण निःशुल्क गरेको हो । यीबाहेक २७ वटा साना हिमालबाट नेपाल पर्वतारोहण संघले राजश्व संकलन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्