१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


२५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मन्त्रालयको आग्रह


0
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ ।

कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद्समक्ष प्रस्ताव लगेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । अहिले देखिएका संक्रमितहरूमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेकाले सावधानी अपनाउनुपर्ने बेला आएको प्रवक्ता डाक्टर गौतमको भनाइ छ ।

उहाँले अहिले कोरोना सर्ने क्रमलाई ब्रेक गर्नुपर्ने अवस्था आइसकेको पनि बताउनुभयो । भिडभाड हुने सबै व्यवसाय तथा पेशालाई जनस्वास्थ्यका मापदण्ड पालना गराएर मात्रै सञ्चालन गर्न दिनुपर्ने प्रवक्ता डाक्टर गौतमको भनाइ छ ।

पछिल्लो समय संक्रमित व्यक्तिहरूमा जटिल किसिमका लक्षणहरू देखा परेको पनि प्रवक्ता गौतमले बताउनुभयो । अहिले कोभिड संक्रमण भएका धेरै बिरामीहरूलाई अस्पतालमा भर्ना गर्नुपरेको उहाँको भनाइ छ ।

गतवर्ष भन्दा यस वर्ष मन्त्रालयको व्यवस्थापन पक्ष राम्रो भएको पनि प्रवक्ता गौतमले बताउनुभयो । गत वर्ष रोगको बारेमा र यसको व्यवस्थापनको बारेमा केही पनि थाहा नभएको तर यसपटक औषधि भन्दा पनि अक्सिजन र रोगसँग लडनुपर्ने अन्य सामग्रीहरुको जोहो गर्नुपर्छ भन्ने थाहा भएकोले सोही अनुसारको तयारी गरिएको बताउनुभयो ।