
काठमाडौं । नेकपा माओवादी केन्द्रको कारबाहीमा परेर सांसद पद गुमाएका चार जना मन्त्रीले शुक्रबार फेरि मन्त्री पदको शपथ लिने भएका छन् ।
माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गर्नुभएको हो । उनीहरूको शपथ कार्यक्रम शुक्रबार साँझ ५ बजेका लागि तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
हालै एमाले केन्द्रीय सदस्यमा मनोनित भएका उनीहरूलाई नेकपा माओवादी केन्द्रले दलबाट निश्कासनको कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निश्कासन गरेमा सांसदबाट पदमुक्त हुने व्यवस्था छ ।
माओवादी केन्द्रले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा वाचन गरेपछि चारैजना मन्त्रीको सांसद पद खारेज भएको थियो भने सांसदहरूको हैसियतमा पाएको मन्त्री पदबाट पनि पदमुक्त भएका थिए । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्