२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


इलामकाे राणाकालीन दरबारमा ऐतिहासिक संग्रहालय


0
Shares

प्रकाश नेपाल

इलाम । इलाममा रहेको एकसय वर्षभन्दा पुरानो राणाकालीन दरबारमा अरनिको संग्रहालय बन्ने भएको छ ।

इलाम नगरपालिकाले ऐतिहासिकता झल्काउँदै पर्यटकीय आकर्षण गर्नेे उद्देश्यले राणकालीन दरवारलाई अरनिको संग्रहालय बनाउने काम अघि बढाएको हो ।

राणाकालीन यस भवनलाई सरकारले स्थानीय तहलाई हस्तान्तरण गरेसँगै इलाम नगरपालिकाले अरनिको संग्राहालय निर्माण गर्ने भएको हो ।

यस अघि जिल्ला प्रशासन कार्यालय रहे पनि प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि दरबारमा संग्राहालय बनाउन नगर साहित्य प्रतिस्ठानलाई जिम्मा दिएपछि यसले गति लिन थालेको छ ।

संग्रालयमा लोप हुने अवस्थामा पुगेका विभिन्न सामग्री, पुराना उपकरणहरू, बजागाजा, विभिन्न जातिका वेषभुषा, भाडावर्तनलगायतका सामग्रीको संरक्षण गर्न थालिएको हो ।

त्यस्तै पुर्खाहरुले प्रयोग गरेका ढिकी, जाँतो, ठेकी, चर्खा, पेचा, कोलजस्ता घरायसी सामग्री र पञ्चेबाजा जस्ता वस्तुहरुको संरक्षण गर्दे संग्राहालयमा सजाउन थालिएको छ ।

जिल्लामा बसोबास गर्ने राई, लिम्बू, शेर्पा, लाप्चा, सुनुवारलगायत विभिन्न जातजातिले प्रयोग गर्ने सांस्कृतिक सामग्री, भेषभुषालाई पनि संग्रहित गर्ने तयारी भईरहेको छ ।

भवनमा २२ वटा कोठा छन् । संग्राहालयमा जातिय संकृतिका सामाग्री र लोपोन्मुख सामग्रीहरु राख्ने कामलाई तिव्रता दिईएको छ ।

संग्राहालयको प्राङ्गणमा यसरी पञ्चेबाजाका स्टाच्यु सजाएर पर्यटकीय आकर्षण्को हब बनाउन थालिएको छ ।

संग्रहालयमा आउने पर्यटकहरुलाई जिल्लाका पर्यटकीय स्थलको पनि जानकारी दिईने छ ।

पर्यटकीय क्षेत्रका गन्तव्यको जानकारीका लागि संग्राहालयमा एउट हल निर्माण भएको छ जहाँबाट भिडियो हेरेर जिल्लाका अन्य पर्यटकीय क्षेत्रको जानकारी पाउने र पर्यटकले मन पर्ने ठाउँमा घुम्न पाउनेछन् ।

राणा प्रधानमन्त्री जंगबहादुर राणको पालामा इलाममा बडाहाकिम भएर आएका गजराजसिंह थापाको कार्यकालमा यो दरबार बनेको हुदा यो पूर्वाञ्लकै आकर्षण केन्द्रको रुपमा रहेको छ ।

दरबारमा अरनिको संग्राहलय बन्ने भएपछि स्थानीय पनि उत्साहित भएका छन् । उनीहरुले दरबारको पुननिर्माण गर्दै यसलाई अत्याधुनिक बनाएर पूर्वाञ्चलकै संग्राहलय बनाउन पनि माग गरेका छन् ।

संग्राहलयले पूर्णता पाएसंगै ईलाम एउटा खोज अनुसंधान पर्यटकहरुको रोजाई बन्नेमा समेत स्थानीयवासी ढुक्क देखिन्छन् ।