२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


वर्तमान सरकार धेरै दिन चल्दैन– अध्यक्ष दाहाल


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार धेरै दिन नचल्ने बताउनुभएको छ ।

काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद् भेलालाई सम्बोधन गर्दै उहाँले ओली नेतृत्वको वर्तमान सरकार धेरै दिन नचल्ने र केही दिनभित्रै नयाँ सरकार बन्ने बताउनुभएको हो ।

प्रचण्डले परिस्थिति असहज भएपनि नयाँ सरकार गठन गरेर अगाडि बढ्ने वातावरण बनिरहेको बताउनुभयो । उहांले सरकारले संविधान मिच्ने कोसिस जारी राख्दै गएमा नयाँ खालको विद्रोहमा जानुपर्ने पनि बताउनुभयो । लोकतान्त्रिक गणतन्त्र र संविधान सभा मार्फत बनेको संविधानको रक्षाको निम्ति पनि आन्दोलनमा जानुको विकल्प नदेखिएको उहांको भनाइ थियो ।

प्रचण्डले सरकार संविधान र ऐन कानूनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको आरोप लगाउनुभयो । हिजो बसेको तीन दलको बैठकले सरकारले राज्यका सबै अङ्गहरुलाई सन्त्रासमा राख्ने र कब्जा गर्ने कोसिस गरेको निष्कर्ष निकालेको बताउनु भयो ।

हिजो मात्र कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार गठनका विषयमा माओवादी र जनता समाजवादी पार्टीका नेताहरूसंग छलफल गर्नुभएको थियो । जसपाले संविधान संशोधनको माग उठाइरहेका बेला प्रचण्डले संविधानमा अपुग छ भने परिमार्जन र संशोधन गरेर जानुपर्छ, भन्नुभयो ।