
डोलराज रानाभाट
चितवन । चितवनको रत्ननगर नगरपालिका–८ चित्रसारीमा रहेको माझी मुसहर बस्तीमा खुसीयाली छाएको छ । सस्तो व्याजदरमा ऋण पाएपछि पक्की घर बनाएका उनीहरूले आफ्नो बस्तीलाई नितान्त नौलो बनाएका छन् ।
माझी मुसहर टोलकी बासमती माझी कयौं दिन चैत वैशाखको हावाहुरी र असार साउनको झरीले राम्रोसँग निदाउन पाउनुभएन । २०६० सालको बाढीका कारण खोला किनारमा बस्न बाध्य उहाँहरू, अमेरिकाबाट आउनुभएका एक जना नागरिकले ३ कठ्ठा जग्गा किनेर थप व्यस्थित गरिदिए । त्यसपछि यो टोलमा सुरु भएको बसोवास पूर्ण व्यस्थित हुन सकिरहेको थिएन ।
सानो घर, खरको छानो, अस्तव्यस्त वातावरणकाबीच शिक्षा स्वास्थ्यको चेतनामा समेत कमी भएको टोल अहिले भने परिवर्तन भएको छ । दैनिकी नै कठिन भइरहँदा नगरपालिका र लुमन्ती नामक संस्थाको सहयोगमा उनीहरूले टीनले छाएर पक्की घर निर्माण गरेका छन् ।
एकै आकारको घर बनेपछि अहिले टोल सफा पनि भएको छ । विद्यालयनै नजाने बालबालिका अहिले पढ्न थालेका छन् । रत्ननगर नगरपालिका र लुमन्ती आवासको लागि सहयोगी समूह मिलेर ६० लाखको कोष खडा गरी त्यहिबाट ३ लाखसम्मको ६ प्रतिशत व्याजदरमा ऋण पाएपछि उनीहरूले व्यवस्थित घर बनाए ।
सुरुमा १६ घरमा रहेका माझी मुसहरहरू अहिले २४ घरमा बस्दै आएका छन् । लोक गायक मिलन लामाले एउटा घर बनाइदिनुभएको थियो भने बाँकी घर सोही कोषबाट ऋण लिएर घरधनीले बनाएको स्थानीय बलिराम माझी बताउनुहुन्छ ।
ऋण लिएको रकमको किस्ता तिर्न उनहिरूलाई व्यावसायिक सीप दिएर काम गर्न प्रोत्साहित गरेको रत्ननगर नगरपालिकाका नगरप्रमुख नारायण वन बताउनहुन्ुछ । माछा मारेर जिविकोपार्जन गर्ने उनीहरू निकुञ्ज नजिक भएकाले पनि वैकल्पिकसीप दिएर काम गर्न प्रोत्साहित गरिएको छ । नगरभित्रका अन्य गरिब तथा विपन्न परिवारलाई व्यवस्थित बसोबासका लागि काम भइरहेको नगरपालिकाले जनाएको छ ।
सीप सिकाएर श्रम गर्ने र कमाएको बचत गरी किस्ता तिर्ने बानीको विकास गर्दा उनीहरूमा आम्दानी खर्च र बचत मिलाउन सहज भएको छ । तर, कोरोनाका कारण किस्ता तिर्न कठिन भइरहेको बताउने उनीहरूले सरकारबाट सहयोगको पनि अपेक्षा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्