१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नयाँ सरकार बन्न असम्भव !


0
Shares

रोमन आचार्य
काठमाडौं । प्रतिपक्षी दलहरूबीच साझा अवधारणा बन्न नसक्दा तत्काल नयाँ सत्ता समीकरण बन्ने सम्भावना कमजोर बन्दै गएको छ । जसपाको एउटा खेमा प्रधानमन्त्री केपी शर्मा ओली माथिको संकट मोचनमा दह्रो खम्बा बनेर उभिएसँगै सत्ता समीकरणको नयाँ गठजोड कमजोर बन्दै गएको हो ।

माओवादी केन्द्र पनि नयाँ सरकार बन्ने अवस्था आए मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छ । शुक्रबार तीन दलको बैठक बसे पनि सत्ता समिकरणको जोड घटाउमा बैठक अनिर्णित रह्यो । जुन् कुरा कांग्रेस सभापति शेरबहादुर देउवाको अभिव्यक्तिले स्पष्ट पार्छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र आफ्ना आलोचकहरूलाई चुप लगाउन मात्र देउवाले तीन दलको बैठक आयोजना गरेको बुझ्न कठिन छैन । बैठकमा सभापति देउवाले सत्ता समीकरणका लागि प्रस्ताव गरे पनि जसपा तयार देखिएन ।

जसपा अध्यक्ष महन्थ ठाकुरको अभिव्यक्तिले ओलीमाथीको संकट मोचनका लागि उहो पक्षिय जसपा खेमा पर्याप्त छ । किनकी प्रधानमन्त्री ओली जसपाको माग सम्बोधन गर्ने तयारीमा हुनुहुन्छ । रेशम चौधरीलगायत मधेस आन्दोलनका क्रममा २४ थान मुद्दामा अभियुक्त बनाइएका २ सय १० जनाको नाम र ठेगानासहितको पत्र गृह मन्त्रालयमा बुझाइसकेको छ । खेलफड्को र समीकरण बुझेर हुनुपर्छ ओलीलाई बालुबाटारबाट बालकोट पठाउन देउवामा त्यति उत्साह छैन ।

समीकरण बुझे पनि कांग्रेसभित्र पौडेल र महामन्त्री शशांक कोइराला भने नयाँ सरकार बन्ने विश्वासमा हुनुहुन्छ । उता जुनसुकै हालतमा वर्तमान सरकारलाई हटाउने अभियानमा रहेको माओवादी केन्द्र पनि नयाँ समीकरण बनिहाल्छ भन्नेमा ढुक्क छैन । जसका कारण उसले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिन सक्ने अवस्था पनि छैन ।

तीन दलको औपचारिक बैठक बसेर कांग्रेसले सरकारको विकल्प दिन खोजे पनि राजनीतिक माहोल हेर्दा व्यवहारमा त्यो अहिलेनै सम्भव देखिँदैन । जसपा र माओवादी केन्द्रको पूर्ण साथ नपाए कांग्रेसले २० चैतमा निर्णय गरेजस्तो आफ्नो नेतृत्वमा सरकार बन्न सक्दैन । विशेषगरी जसपाभित्र महन्थ खेमा ओलीको दह्रो साथमा उभिदा कांग्रेस सभापति देउवा नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना कमजोर देखिन्छ ।