
काठमाडौं । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले महासंघको निर्णय प्रक्रिया र नीति निर्माणमा दलीय प्रभाव पर्न नदिने प्रतिबद्धता जनाउनु भएको छ ।
शनिबार मतगणना सकिएपछि विजय जुलुस मनाउँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले महासंघका कुनै पनि कुरामा दलीय एजेण्डाको प्रभाव पर्न नदिने बताउनुभएको हो । यस्तै श्रमजीवि पत्रकारहरूको हक हितका मुद्दाहरूलाई अगाडी लैजाने सम्बन्धमा आफूले कहिं कतै सम्झौता नगर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
यस्तै नवनिर्वाचित उपाध्यक्ष रमेश विष्टले पनि पत्रकार महासंघमा दलीय छायाँ पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासंघलाई पत्रकारहरूको साझा चरित्रको संस्थाको रूपमा विकास गर्ने उहाँको भनाय छ ।
महासंघको चुनावमा पोखरेलको उम्मेदवारी नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस सङ्गठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चोतारी सहित ११ सङ्गठनको तर्फबाट रहेको थियो ।
अध्यक्षमा नेकपा एमालेको ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी निकट प्रेस मञ्च, विप्लव निकट जनपत्रकार संघ लगायतको प्यानलबाट निर्मला शर्माको उम्मेदवारी थियो । त्यसबाहेक गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्