
काठमाडौं । १९ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ ।
शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा अफ्रिकन रुट्स एसोसियसनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि जितेको हो ।
खेलको निर्धारित समय र थप गरिएको ३० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ,निरज बस्नेत, आयुष घलानले गोल गरे ।
सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले बचाए । अफ्रिकनका यानिक र रिमले मात्र गोल गर्न सके । पेनाल्टी अघि खेलको १० औं मिनेटमा बासेकले गोल गर्दै अफ्रिकन रुटलाई १–० को अग्रता दिलाएका थिए ।
खेलको २१ औं मिनेटमा अफ्रिकनले अग्रता दोब्बर बनाउने मौका गुमायो । संकटाका डिफेन्डरबीच तालमेल नमिल्दा डिबक्स भित्र प्राप्त बलमा अनमार्क रहेका बासेकले गोल गर्न सकेनन् । खेलको ५१ औं मिनेटमा संकटाका ग्लोरीले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलमा थप गोल भएन र खेल अतिरिक्त समयमा गयो । अतिरिक्त समयमा संकटाले केहि गोलको अवसर खेल फाल्यो ।उपाधिसँगै संकटा आहा रारा गोल्डकपको नयाँ विजेता बन्यो ।
उपाधिसँगै संकटाले नगद १० लाख १ हजार रुपैँया हात पारेको छ । उपविजेता बनेको अफ्रिकनले नगद ५ लाख १ हजारमा चित्त बुझायो ।
प्रतिक्रिया दिनुहोस्