१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ललितपुर मेयर कप महिला क्रिकेटको उपाधि एपीएफलाई


0
Shares

काठमाडौं । विभागीय टोली एपीएफले पहिलो संस्करणको ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । १ सय ७ रनको लक्ष्य पछ्याएको एपीएफले १६ दशमलव १ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

उत्कृष्ट सुरुवात गरेको एपीएफले पहिलो विकेटका लागि ज्योती पाण्डे र सिता रानामगरले ६९ रनको साझेदारी गरे । २७ रनमा खेलेकी सिता ११ ओभरको अन्तिम बलमा रन आउट हुन पुगिन् । ज्योतीले ३६ रनको योगदान दिइन् । इन्दु बर्मा १९ र ममता चौधरी १५ रनमा अविजित रहे ।

यसअघि सुदूपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६ रन जोडेको थियो । सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ४४ रन जोडिन् । कविता कुँवरले १४ रन जोड्दा डोली भट्टले १४ र रेवती धामीले १० रन बनाए ।

अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । सुदूरपश्चिमलाई सस्तैमा समेट्न एपीएफकी रेखा रावल, करुना भण्डारी, सुष्मा श्रेष्ठ, सिता रानामगर र विनु बुढाले समान एक–एक विकेट लिए ।

उपाधिसँगै एपीएफले ३ लाख नगद पुरस्कार प्राप्त गर्यो । यस्तै उपविजेता बनेको सुदूपश्चिमले १ लाख ५० हजारमा चिक्त बुझायो ।