१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अव्यवहारिक अनुगमनले व्यवसायी मारमा परेको महासंघ अध्यक्ष गाेल्छाकाे गुनासो


0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अव्यवहारिक अनुगमनले व्यवसायीलाई समस्यामा परेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले व्यवसायीप्रति पहिले नै खराब भावना राखेर गरिने अनुगमनले कसैलाई फाइदा नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘म आज प्रधानमन्त्री ज्यूलाई पनि आग्रह गर्न चाहन्छु, व्यवसायीप्रति पहिले नै खराब भावना राखेर गरिने अनुगमनले कसैलाई फाइदा हुँदैन । यसमा सुधार आवश्यक छ । पहिले त यसको नियमावली नै बन्नुपर्छ ।’

अध्यक्ष गोल्छाले अर्थतन्त्र सुधार्न र निजी क्षेत्रको तर्फबाट मुलुकको समृद्धिमा योगदान दिन ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३०’ को मार्गचित्र तयार पारिएको बताउनुभयो । मुलुकको समृद्धिमा अहिले भन्दा अझै बढी, व्यवस्थित र प्रभावकारी योगदान दिनका लागि ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३०’ले सहयोग पुर्याउने उहाँको विश्वास छ ।

मुलुकको अर्थतन्त्रमा करिब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्र सम्मानित हुँदै गएमा मात्र सम्मुन्नति पनि सँगसँगै आउने भएकाले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक रहेको बताउनुभयो ।

गोल्छाले भिजन पेपर इमान्दारीपुर्वक कार्यान्वयन हुँदा आगामी दशकमा एक सय ५० अर्ब डलर भन्दा बढी लगानी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले बजेटको आकार बढाएर मात्रै विकास संम्भव नभएको भन्दै अनुत्पादक क्षेत्रको खर्चम बजेट कम गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा हरेक प्रदेशबाट क, ख र ग वर्गका उद्योग वाणिज्य संघहरूलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो ।